क्रान्तिकारी कम्युनिस्टबीच एकता हुनैपर्छ : प्रधानमन्त्री

Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको हितका लागि क्रान्तिकारी कम्युनिस्टबिच एकता हुनैपर्ने बताएका छन्। सहिदको सपना पूरा गर्न पनि क्रान्तिकारी शक्तिबीच एकता, सहकार्य जरुरी रहेको उल्लेख गर्दै उनले सहिदहरूको सपना पूरा गर्नका लागि पनि एक ठाउँमा आउनैपर्नेमा जोड दिएका हुन्।

सहिद प्रतिष्ठान नेपालले आज यहाँ आयोजना गरेको शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रियामा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले क्रान्तिकारी एक ठाउँमा केन्द्रित हुन जरुरी रहेको बताए। सहिदको सपना पूरा गर्ने लक्ष्यका साथ समाजवादी मोर्चा मात्रै नभएर बृहत्तर कम्युनिस्ट एकताको पहल भइरहेको उनको भनाइ थियो।

माओवादी सिद्धान्त र व्यवहारका हिसाबले जमेको पोखरी नभई गडगडाउँदो नदी भएको उल्लेख गर्दै उनले भने, ‘माओवादी निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन। नयाँ-नयाँ परिस्थिति सिर्जना गर्ने जात हो माओवादी। सहिद सप्ताहको अन्तिम दिन निरन्तरतामा क्रमभंगता भएको छ।’

प्रधानमन्त्री प्रचण्डले आजको दिनलाई विशेष दिनका रुपमा रहेको टिप्पणी गरे। ‘नयाँ उथलपुथल भएको दिन पनि बन्यो। यो ठूलो कुरा हो। क्रान्तिकारी एक हुने अवस्था छ र बृहत्तर कम्युनिस्ट एकताको पहल पनि भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

उनले आफूहरूलाई घेरा हालेर सिध्याउने कोशिस भएपनि त्यसलाई तोड्दै आएको उल्लेख गरे। उनले आफ्नै नेतृत्वमा जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र बाँकी रहेकालाई समेत छिट्टै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे।

शान्ति प्रक्रियाको कामलाई टुंगो लगाएर सहिद तथा बेपत्ता परिवारलाई परिपूरण, रोजगारीलगायतका विषयलाई सम्बोधन गरिने प्रधानमन्त्रीको भनाइ छ। उनले माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेको र जनयुद्ध दिवसमा राष्ट्रिय बिदा दिएको विषयलाई खुलेर प्रशंसा गर्न कन्जुस्याइँ गरेकामा पूर्वमाओवादी घटकप्रति असन्तुष्टि जनाए। ‘ठूला कुरा गर्नुभन्दा हामी क्रान्तिकारीहरू एक ठाउँमा उभिने बाटो खोजौँ त्यसमा नै हामी सबैको भलाइ छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्