माओवादी केन्द्र चितवनले मनायो सहिद सप्ताह

pic-6
लोकपाटी न्यूज
0 Shares

चितवन। नेकपा माओवादी केन्द्र चितवनले विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाएको छ। पार्टीले फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरेर सहिद सप्ताह मनाएको हो।

फागुन १४ गते सहिद सप्ताहको पहिलो दिन अखिल नेपाल खेलकुद महासंघद्वारा पुरुषतर्फ ५ किलोमिटर एवं महिलातर्फ ३ किलोमिटर दूरीको सहिद ‘स्मृति रोड रेस’ प्रतियोगिता सम्पन्न भयो। त्यसैगरि सोही दिन जिल्ला पार्टी कार्यालयमा सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा जिल्लामा रहेका १ सय ६० सहिद परिवारलाई सम्मान गरिएको थियो।

यस्तै फागुन १६ गते व्यवस्था परिवर्तनका लागि जेल-हिरासत बसेका योद्धाहरूलाई सम्मान गरिएको थियो। जिल्ला संयोजक रामचन्द्र अधिकारी (आर.सी) को अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य ईश्वरी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा ४ सय ५१ जना योद्धालाई सम्मान गरिएको थियो।

फागुन १९ गते जनयुद्ध तथा जनआन्दोलनका घाइते योद्धा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकको प्रमुख आतिथ्यतामा १ सय ८० योद्धालाई सम्मान गरिएको थियो। त्यस्तै फागुन २० गते जिल्लामा रहेको रक्त अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका थिए।

त्यस्तै, सहिद सप्ताहको अन्तिम दिन ‘बलिदान’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ। क्यान्सर अस्पतालको सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाल बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य विनोद खण्ड तिमिल्सिना,जिल्ला संयोजक तथा कार्यक्रम संयोजक रामचन्द्र अधिकारी (आर.सी.) ले कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा नेकपा एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने,नेपाली काँग्रेसका जिल्ला उपसभापति शालिग्राम शर्मा,नेकपाका जिल्ला इन्चार्ज रुद्र सी, नेकपा एसका जिल्ला कार्यवाहक अध्यक्ष कृष्णराज न्यौपाने (लब्ली) लगायत नेकपा माओवादी केन्द्रका केन्द्रदेखि जिल्लाका नेताहरूले टिप्पणी र सुझाव दिएका थिए।