सुदूरपश्चिममा माओवादीका तीन मन्त्री बर्खास्त

kamal- bahadur shah pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र)बाट सुदूरपश्चिम सरकारमा सहभागी दुई जना मन्त्री र एक राज्यमन्त्री बर्खास्त भएका छन्। संघमा सत्ता समीकरण बदलिएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले उनीहरूलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्रीले सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेका हुन्। मन्त्री बर्खास्त गरेर उनले दुवै मन्त्रालयको जिम्मेवारी आफैले लिएका छन्।

सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा माओवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त सरकार बनेको थियो। संघमा माओवादीले नेकपा (एमाले) सहितका दलहरूसँग नयाँ गठबन्धन गरेकाले माओवादीबाट प्रदेश सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरेको मुख्यमन्त्री शाहले बताएका छन्।

उनले सरकारको बहुमत कायम राख्नका लागि सहयात्री दलहरूसँग छलफल गरिरहेको बताएका छन्। नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका मन्त्रीलाई भने मुख्यमन्त्रीले चलाएका छैनन्। सरकारमा नागरिक उन्मुक्तिबाट एक मन्त्री र एक राज्यमन्त्री तथा एकीकृत समाजवादीबाट एक मन्त्री छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्