नेपाल निवासमा डेढ घण्टादेखि छलफल जारी

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)लाई नयाँ सत्ता गठबन्धनमा सहभागी गराउन छलफल चलिरहेको छ। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग कोटेश्वरस्थित उनको निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले डेढ घण्टादेखि छलफल गरिरहेका छन्।

छलफलमा एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल पनि सहभागी छन्। प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ पनि नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए भने अध्यक्ष नेपालसँग ओलीले हिजो टेलिफोनमा कुराकानी गरेका थिए। यसअघि मंगलबार नै नयाँ सत्ता-गठबन्धनको कार्यदल बैठक बसेको थियो।

अहिलेको छलफल नयाँ सत्ता गठबन्धनमा सहभागितासँगै वामपन्थी एकताको विषयमा पनि केन्द्रित रहेको बताइएको छ। आइतबार प्रधानमन्त्री प्रचण्डले एमाले लगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। सरकारमा सहभागी सबै मन्त्रीलाई प्रधानमन्त्रीले सोमबार नै हटाइसकेका छन्।

सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका थिए। राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै लिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्