मन्त्रिपरिषद् पुनःगठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु : प्रधानमन्त्री प्रचण्ड

pm prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसहेको बताएका छन्।

संसद्मा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यही फागुन ६ देखि १८ गतेसम्मका विषयमा सरकारको धारणा माग गरिएकोमा सरकारको समीकरणसँगै मन्त्रीहरूको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए।

“सांसदहरूले उठाएका विषयहरूको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु”, प्रधानमन्त्री प्रचण्डले भने, “ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन्। उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ।”

सम्बोधनमा प्रधानमन्त्रीले नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले फेरि विश्वासको मत लिने क्रममा आफूले संसद्मा विशेष सम्बोधन गर्नेसमेत प्रष्ट पारे।