मन्त्रीसँगको फोटो देखाएर अनुचित लाभ लिनसक्छन्, सचेत रहनुहोला : रास्वपा

Raswopa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्री, नेतासँग फोटो खिच्ने र ती फोटो सामाजिक सञ्जालमा राखेर आम जनतासम्म अनावश्यक रवाफ प्रस्तुत गर्नेप्रति सचेत रहन आग्रह गरेको छ।

आज पार्टीले विज्ञप्ति जारी गर्दै अनावश्यक रवाफ आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने जस्ता गलत अभ्यासहरू देखिएकाले त्यसतर्फ सचेत गराएको जनाएको हो।

यस्तो संस्कारले दम्भको प्रदर्शनबाहेक पार्टी, समाज र देशलाई कुनै फल नदिने पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ। साथै कोही व्यक्तिले मन्त्रीको नजिक छु भनेर आश्वासनका कुरा गरेमा सचेत रहन आग्रह समेत गरेको छ।

‘कुनै पार्टी सदस्य वा व्यक्तिले मन्त्रीको नजिक छु भनी कुनै आश्वासनका कुरा गर्दछ भने त्यस्ता व्यक्तिसँग सचेत रही भ्रममा नपर्न अनुरोध गर्दछौँ। मन्त्रीसँग नजिक छु, फोटो खिचेको छु भनेर अनुचित लाभ उठाउन सक्नेप्रति हामी सचेत छौँ, जनता पनि यसमा सचेत हुन आवश्यक छ। यदि कसैले त्यसो गरेको पाइएमा तुरुन्त पार्टीमा उजुरी गर्नुहोला। कोही कसैको नजिक भएकै आधारमा हाम्रा मन्त्रीहरूले कुनै काम गर्ने छैनन् भन्नेमा विश्वस्त पार्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ। रास्वपाले त्यस्तो कुनै पनि भनसुन र चाकडीबाजीलाई प्रश्रय नदिने जनाएको छ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्