कामपाले पुनः सुरु गर्‍यो स्रोतमै फोहर वर्गीकरण

PhohoR
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले स्रोतमा नै फोहर वर्गीकरणको काम पुनः सुरु गरेको छ। कामपा-१० मा आजदेखि वडामा उत्पादन हुने सबै किसिमका फोहर स्रोतमा नै वर्गीकरणको अभ्यास थालनी गरेको हो।

करिब दुई वर्षअघि कामपाले ३२ वटै वडाबाट स्रोतमा फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाने काम सुरु गरे पनि प्रभावकारी नभएपछि आजदेखि पुनः सुरु गरेको हो। लामो समयदेखि कामपा वडा नं १० को फोहर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

उनका अनुसार स्रोतमा वर्गीकरण गरिएका फोहर संकलन गर्ने सवारीसाधनमा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन्। ‘स्रोतमा फोहर छुट्याएर कुहिने फोहरलाई घरमै मल बनाउन प्रोत्साहन गरेका छौं,’ प्रमुख श्रेष्ठले जानकारी दिए।

कामपाले यस वडामा मात्रै नभई ३२ वटै वडामा क्रमिकरुपमा स्रोतमा नै फोहरको वर्गीकरण र व्यवस्थापनको तयारी गरेको छ। अब चाँडै २९ वडामा उक्त कार्य सुरु गरिने उनको भनाइ छ। घरेलु फोहरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं २७ मा माघ २१ देखि थालिएको हो। वडामा घरघरबाट वर्गीकरण गरिएको फोहर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ। कुहिने फोहरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने कार्य कामपाले सुरु गरिसकेको छ।

के हो, फोहर वर्गीकरण ?

‘भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन्। कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो। नकुहिने फोहर उत्पादक आफैँले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ,’ विभागका प्रमुख श्रेष्ठले भने। उनका अनुसार मल बनाउन सकिएन भने कामपाको फोहर संकलन गर्न आएको सवारी साधनमा राखेर पठाउन सकिन्छ।

तरकारी (साग सब्जी), बढी भएको खानेकुरा, माछा मासु, हड्डी, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन्। त्यस्तै प्लास्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सिमेन्टको ब्याग, बोतलहरू, फलामलगायत वस्तु नकुहिने फोहर हुन्।

यससँगै सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, म्यान नाघेका औषधि, मास्क, व्यक्तिगत सुरक्षा पोसाक (पिपिइ), पञ्जा, फुटेका सिसा, घर आँगल बढार्दा आएको धुलो तथा माटो पनि फोहरका रुपमा संकलन हुन्छ। हिजोआज सहरी क्षेत्रमा सेनटरी प्याडभन्दा औषधि र डाइपरजन्य फोहरको मात्रा बढ्दै गएको छ। यस्तो फोहर कुहिने र नकुहिने फोहर राख्ने भाँडाको नराखी अर्को छुट्टै भाँडामा राख्नुपर्ने कामपा वातावरण व्यवस्थापन विभागको भनाइ छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्