सबै चाड-पर्व हाम्रा सांस्कृतिक सौहार्द्यताका धरोहर हुन् : सभापति देउवा

SherBahadur_Deuba
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्वका माध्यमबाट सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुग्ने बताएका छन्।

महाशिवरात्रिका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘नेपाल विभिन्न चाड-पर्व, धार्मिक एवम् सांस्कृतिक रीतिरिवाज भएको मुलुक हो, प्रत्येक पर्वलाई सबैले आदर गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, हाम्रा यी सबै चाड-पर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्द्यताका धरोहर हुन्।’

शिवरात्रिजस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको सभापति देउवाले सन्देशमा बताए। सभापति देउवाले महाशिवरात्रिको अवसरमा आफू र आफ्नो पार्टीका तर्फबाट सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदी-बहिनीमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।