फ्रेन्डसिप कपमा नेपाललाई २१३ रनको लक्ष्य

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। हङकङविरुद्ध फ्रेन्डसिप कप जित्न नेपालले २ सय १३ रनको लक्ष्य पाएको छ। हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनायो।

कमजोर सुरुवात पाएको हङकङले बाबरको आक्रामक ब्याटिङ सँगै २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन जोड्यो । अन्तिम ओभरमा आउट हुनुअघि बाबरले ४९ बलमा १ सय १० रन जोडे । उनले ३ चौका र १३ छक्का प्रहार गरे। ९ ओभरको समाप्तिमा ६१-२ को स्थितिमा रहेको हङकङले त्यसपछि आक्रामक ब्याटिङगर्दै विशाल लक्ष्य प्रस्तुत गर्यो।

बाबर डेब्यु गरिरहेका आकाश चन्दको बलमा कप्तान रोहित पौडेलको हातबाट क्याच आउट भए। आकाशले त्यसअघि आफ्नो पहिलो ओभरमै विकेट हात पारेका थिए। उनले पाँचौ ओभरको पाँचौ बलमा सेट ब्याटर मार्टिन कोट्जीको विकेट लिए।

आकाशको बलमा लामो सट खेल्ने धुनमा मार्टिन प्रतिश जिसीको हातबाट समातिए। उनले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे। आकाशले पहिलो ओभरमा ५ रन खर्चेर १ विकेट लिएका थिए।

त्यसअघि नेपाललाई आरिफ शेखले पहिलो सफलता दिलाए। इनिङको सुरुवात गरेका आरिफले तेस्रो ओभरको दोस्रो बलमा निजाकत खानलाई सन्दीप जोराबाट क्याच गराएका थिए। निजाकतले खाता खोल्न सकेनन्।

त्यसपछि बाबर र अंशुमन रथले ७६ रनको साझेदारी गरे। अंशुमन ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रनमा प्रतिश जिसीको शिकार बने। अर्को ओभरमा जेमी एटकिन्सन राशीद खानको बलमा एलबीडब्लु भए।

त्यसपछि एजाज खानले अधिकांश समय बाबरलाई स्ट्राइक दिएर ९५ रनको साझेदारी गरे। उनी ११ बलमा २ चौका र १ छक्कासहित २१ रनमा नटआउट रहे। नेपालका लागि आकाश चन्दले ३ तथा आरिफ, प्रतिश र राशीदले १/१ विकेट लिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्