निजी क्षेत्रसँग हातेमालो गर्दै सरकार अघि बढ्छ : उपप्रम महासेठ

Raghubir Mahaseth
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन्। नेपाल तयारी पोसाक उद्योग संघको २९ औँ वार्षिक साधारण सभामा उनले निजी क्षेत्रका सबै समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे।

सरकार र निजी क्षेत्रका बीच सहकार्य बिना मुलुकले फड्को मार्न नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महासेठले भने, ‘देश बनाउने तपाईं हामीले नै हो, मुलुकको आर्थिक अवस्था सबल बनाउन सबैको सहकार्य आवश्यक छ।’ उनले मुलुकको आर्थिक अवस्थालाई बलियो बनाउन सरकार केन्द्रित भएको बताए।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले स्वदेशी उत्पादनले बजार नपाउनाको कारण खोजेर समाधान गर्नुपर्ने बताए। यसका लागि आफ्नो मन्त्रालय निजी क्षेत्रसँगै रहेको उनले बताए। ‘निजी क्षेत्रसँग नजिकबाट सहकार्य गर्न सरकार तयार छ,’ मन्त्री भण्डारीले भने।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सत्ता पक्ष र प्रतिपक्ष एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले निजी क्षेत्रलाई सरकारले विश्वासमा लिनुपर्छ भने।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले तयारी पोसाक तथा कृषिजन्य उत्पादनको निर्यात सहजीकरण गर्न, मुलुकमा लगानीको वातावरण निर्माण गर्न सुझाव दिए। उनले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा लैजान नदिने प्रतिबद्धता व्यक्त गरे। -रासस