तीनै तहका सरकारलाई आवश्यक कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गिरी

Padam_Giri
लोकपाटी न्यूज
0 Shares

पर्वत। कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक पर्ने कानुन निर्माण गर्न संघीय सरकारले ढिला नगर्ने बताएका छन्। गृह जिल्ला पर्वतमा आज आयोजित पत्रकार भेटघाटमा मन्त्री गिरीले आवश्यक कानुन निर्माणमा मन्त्रालय जुटेको बताएका हुन्।

‘अहिले पनि कतिपय महत्त्वपूर्ण ऐन, कानून र नीतिको अभावमा संघीय, प्रदेश र स्थानीय सरकारले काम गर्न नपाइरहेको गुनासो छ। सो समस्या समाधानका लागि छिटोभन्दा छिटो आवश्यक ऐन निर्माणका लागि गृहकार्य भइरहेको छ,’ उनले भने।

मन्त्री गिरीले कतिपय नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून निर्माण जरुरी रहेकोमा जोड दिए। उनले आवश्यक ऐन तथा कानून निर्माणको जिम्मेवारी र दायित्व आफ्नो काँधमा आएको भन्दै सबै मन्त्रालय र सरोकारवालासँगको समन्वयमा अघि बढ्ने समेत उल्लेख गरे।

मन्त्री गिरीले मुलुक चरम आर्थिक संकटमा रहेका बेला यसको सुधारका लागि उचित कानून निर्माण अहिलेको आवश्यकता भएको बताए। ‘अहिलेका नीति लगानीमैत्री छैनन्,’ उनले भने, ‘लगानी र व्यवसायीमैत्री कानून बनाउन हामी लाग्छौं।’

वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नका लागि गम्भीर रहेको भन्दै मन्त्री गिरीले मुलुक अप्ठ्यारो अवस्थामा रहेका बेला सरकार परिणाममुखी काम गर्नेगरी अघि बढेको बताए। उनले न्याय क्षेत्रमा रहेका विकृति बिसंगतीको पनि अन्त्य गरिने दाबी गरे।

उनले वर्तमान सत्ता गठबन्धन आगामी चार वर्ष नै टिक्ने जिकिर गरे। उनले सत्य निरूपण तथा मेलमिलाप, संघीय निजामति ऐन र शिक्षा ऐन तत्काल सदनबाट पास गरेर देशलाई निकास दिने समेत उल्लेख गरे। -रासस