प्रतिनिधिसभा बैठक सुरु, विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

PM_Prachand
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरु भएको छ। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन्। फागुन २१ गते नयाँ सत्ता समीकरण बनेपछि नेपाली काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएपछि आज विश्वासको मत लिन लागेका हुन्।

सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। प्रचण्डले पुस २६ गते २०७९ मा पहिलो पटक र चैत्र ६ गते दोस्रो पटक विश्वासको मत लिएका थिए।

गत २०७९ पुस १० गते काँग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

नेकपा एमाले,माओवादी केन्द्र, रास्वपा, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीलगायतले प्रधानमन्त्री प्रचण्डलाई भोट हाल्न ह्विप नै जारी गरेका छन्। २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्रीलाई विश्वासका लागि १३८ मत आवश्यक पर्दछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली काँग्रेसका ८८, एमालेका ७९, माओवादी केन्द्रका ३२, रास्वपाका २१, राप्रपाका १४, जसपाका १२ र नेकपा एकीकृतका १०, जनमतका ६, लोसपाका ४ जना,नागरिक उन्मुक्तिका ४, नेपाल मजदुर किसान पार्टीका १, राष्ट्रिय जनमोर्चाका १, आम जनता पार्टीका १ र स्वतन्त्रका २ जना सांसद छन्।

यी मध्ये केही सांसद निलम्बनमा परेका छन् भने इलाम-२ का एमाले सांसद सुवास नेम्वाङको निधन भएकाले त्यहाँ उपनिर्वाचन हुँदैछ। प्रधानमन्त्री प्रचण्डको विश्वासको मतको विपक्षमा भोट हाल्न नेपाली काँग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा, राष्ट्रिय जनमोर्चाले ह्विप जारी गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्