संसद् व्यक्तिगत आरोप र प्रत्यारोप गर्ने थलो होइन : प्रधानमन्त्री

prachand_Pm
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक विषयको प्रतिवाद राजनीतिक ढंगबाट हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै उनले राजनीतिक विषयलाई लिएर व्यक्तिगत आक्षेप लगाउन नहुने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आरोप र प्रत्यारोप लागि सार्वभौम संसद् उपयुक्त थलो नभएको पनि बताए। संसद्मा निजी र व्यक्तिगत आक्षेप लगाउन नहुने उनको भनाई छ।

‘सरकार पुनर्गठन एउटा राजनीतिक प्रक्रिया मात्रै भए पनि काँग्रेसका केही साथीहरूले यसको अराजनीतिक व्याख्या गर्नुभयो र ममाथि निजी आक्षेप र आक्रमण गर्नुभयो,’ उनले भने, ‘म आक्षेपहरूको प्रतिवाद गर्न चाहन्न थेँ तर निजी आरोप र प्रत्यारोपका लागि यो सार्वभौम संसद उपयुक्त ठाउँ होइन भन्ने मेरो मान्यता थियो र छ।’

संसदीय रेकर्डमै रहेका आरोपको प्रतिवाद नगर्दा इतिहासमा गलत सन्देश जाने भएकाले आफूले आफ्नो पक्षका केही कुरा राख्न चाहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले काँग्रेसले कुनै बेला संसद्‍मा उभिएर राजनेता घोषणा गरेको समेत बताए। उनले आफू प्रधानमन्त्रीका रुपमा म निषेध, अपमान होइन, सहमति र सहकार्य र आपसी विश्वासको लागि प्रतिबद्ध रहेको बताए।

अहिलेको शक्ति विन्यासमा सबैको अपनत्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय समस्या समाधानका लागि पनि सबै शक्तिहरू एकै ठाउँमा उभिन पर्ने आवश्यकता रहेको बताए। राष्ट्रका सम्भावना हासिल गर्न पनि राष्ट्रिय एकता कायम गर्नुपर्ने उनको भनाइ छ।