स्पेनको बार्सिलोनामा एनपीपीएफको महाधिवेशन मेयर दाहालले उद्घाटन गर्ने

pic
लोकपाटी न्यूज
0 Shares

स्पेन। विश्वकै रमणीय गन्तव्य स्पेनको बार्सिलोनामा युरोपमा रहेका नेपालीहरूको बृहत् जमघट हुँदै छ। नेपाली जनप्रतिशील मञ्च (एनपीपीएफ) युरोपको ५ औँ महाधिवेशन तथा नेपाली जन प्रगतिशील मञ्च स्पेनको चौथो अधिवेशनमा सहभागी बन्न प्रगतिशील नेपालीहरू बार्सिलोना आउने क्रम बढेको छ। महाधिवेशनमा १ सय बढी प्रतिनिधि सहभागी हुँदैछन्।

महाधिवेशन तथा अधिवेशनको उद्घाटन भरतपुर महानगरका मेयर रेनु दाहालले गर्ने मञ्चले जनाएको छ। मेयर रेनु भरतपुर भ्रमण वर्ष २०२४ को निमन्त्रणा गर्दै यति बेला युरोप भ्रमणमा छन्। स्पेन आइपुगेकी दाहाल स्पेन स्थित नगरपालिकाहरूसँग भ्रमण वर्षबारे जानकारी गराउने, निमन्त्रणा गर्ने कार्यमा सक्रिय छन्। प्रवासीमार्फत विदेशी पर्यटकलाई भरतपुर भ्रमण गराउन सघाउ पुग्ने उनको विश्वास छ।

महाधिवेशन यहि १७ र १८ तारिखमा बार्सिलोनाको हस्पिटालेत दे लोब्रेगातको सुविधा सम्पन्न सभा हलमा दिउँसो ३ बजेदेखि सुरु हुँदै छ। युरोप स्थित नेपाली राजदूतहरू, विभिन्न सङ्गठनका प्रमुखहरू सहभागी हुँदैछन्।

मञ्चका स्पेन अध्यक्ष विशाल ढुङ्गानाले प्रतिनिधिहरूलाई ३ दिनको आवासीय सुविधा सहितको व्यवस्थापन मिलाइएको जानकारी दिए। उनका अनुसार महाधिवेशनमा नेपाली कला, संस्कृति समेत प्रस्तुत हुनेछन्। स्पेनमै हुर्केका नेपाली ससाना बाबू नानीहरूले नेपाली मौलिक गीतमा नृत्य गर्दैछन्।

नेकपा माओवादी केन्द्रको जनवर्गिय सङ्गठनका रुपमा मञ्च क्रियाशील छ। मञ्चमा प्रवासमा रहेका प्रगतिशील विचार अंगालेका नेपालीहरू आबद्ध छन्। विश्वभरका नेपालीहरूको बृहत् जमघटले स्पेनबासी तथा घुम्न आउने पर्यटकले नेपालबारे बुझ्न सघाउने विश्वास लिइएको छ। बार्सिलोना यति बेला नेपालमय बन्न पुगेको छ। महाधिवेशनमा मञ्चका साङ्गठनिक विभाग प्रमुख उदयराज गौतम, आर्थिक विभाग प्रमुख प्रकाश पौडेलले प्रतिवेदन प्रस्तुत गर्नेछन्। बन्दशत्रमा समूहगत छलफल गरेर प्रवासीहरूको हकहितका भावी कार्य योजना समेत तय गरिने ढुङ्गानाले बताए। महाधिवेशनले स्पेन घोषणापत्र जारी गर्नेछ।

महाधिवेशन व्यवस्थापन समिति संयोजक गङ्गाप्रसाद भुसालले महाधिवेशन युरोपमा रहेका नेपालीहरूको पुनर्मिलनको पर्व बन्ने बताए। युरोपभित्रका राष्ट्रिय कमिटीहरूले हरेक देशभित्रका समस्या र सम्भावनाबारे आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछन्। महाधिवेशनमा विधान संशोधनबारे गहन छलफल हुने उनले दिए। नेपालको समसामयिक राजनीति, प्रवासीहरूका एजेन्डा, प्रगतिशील विचारबारे समेत सूक्ष्म छलफल हुने जनाइएको छ।नेपाली जन प्रगतिशील मञ्च स्पेनका सचिव केशवराज कँडेलले युरोप महाधिवेशन स्पेनमा हुनु गौरवपूर्ण भएको बताए। उनका अनुसार स्पेन कमिटीको नयाँ कार्यसमिति घोषणासमेत १७ तारिखमै हुने जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्