नयाँ समीकरण मेरो प्रधानमन्त्री पदको कारणले बनेको होइन : प्रधानमन्त्री

Prachanda_PM-CM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन्। सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारे।

‘जनतामा सुशासन र समृद्धिको आकांक्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्छ।’

उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे। प्रधानमन्त्री प्रचण्डले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न निर्देशन दिए।

‘जनतामा नयाँ आशा र भरोसा जगाउने कुराको कुनै विकल्प छैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो संकल्प र समीकरणबाट पनि जनतामा सेवा प्रवाह भएन, जनतामा आशा जगाउन सकिएन र विकासमा गति दिन सकिएन भने देश अप्ठ्यारोमा जाने खतरा छ, जनताका पक्षमा काम गर्नुहोला।’