मनसुनजन्य विपद्का घटना न्यूनीकरणमा ध्यान दिनुपर्छ : मन्त्री बस्नेत

Shakti_Basnet
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताएका छन्। जल तथा मौसम विज्ञान विभागको आयोजना तथा अमेरिकी सहयोग नियोग (युएसएआडी) तथा ‘इन्स्टिच्युट अफ हिमालय रिस्करिडक्सन’को सहकार्यमा आज यहाँ आयोजित ‘पूर्वसूचना प्रणालीसम्बन्धी सिकाइ आदानप्रदान राष्ट्रिय कार्यशाला गोष्ठी’ को उद्घाटन गर्दै उनले पूर्वसूचना प्रणालीमा सबैको पहुँच सुनिश्चित गर्न जरुरी रहेको बताए।

बाढी पहिरोलगायत मनसुनजन्य घटना दिनप्रतिदिन बढिरहेको भन्दै मन्त्री बस्नेतले पूर्वसूचना प्रणालीको विकासमार्फत विपद् व्यवस्थापन गर्न जरुरी रहेको स्पष्ट पारे। पछिल्लो समय जलवायु परिवर्तनका कारण मनसुनजन्य विपद्का घटना बढिरहेकाले कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबै सरोकारवाला निकायले ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।

‘जलवायु परिवर्तन गराउन नेपालजस्ता विकासोन्मुख मुलुकको नगण्य भूमिका हुन्छ। धनी र औद्योगिक मुलुकका कारण हामीले जलवायु परिवर्तनको जोखिम भाग्नुपरेको अवस्था छ,’ मन्त्री बस्नेतले भने, ‘जलवायु परिवर्तनको प्रभावका कारण बाढी पहिरोजस्ता मनसुनजन्य घटना बढिरहेका छन्। अब कसरी समाधान वा कम गर्न सकिन्छ ? भन्ने विषयमा एउटा निष्कर्ष निकालेर अगाडि बढ्न जरुरी छ।’

मनसुनजन्य गतिविधि, त्यसको प्रभावको अध्ययन तथा अवलोकन गर्ने, सम्भावित जोखिमका विषयमा पूर्वानुमान गर्ने र सुरक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ छ। पूर्वसूचना प्रणालीलाई सबै जनताको पहुँचमा पुर्‍याउन सकेमा बाढी पहिरोलगायत घटनाबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सकिनेमा उनले जोड दिए।

‘विपद्जन्य घटना, बाढी पहिराका कारण बर्सेनि सयौंको ज्यान गइरहेको छ भने भौतिक क्षति पनि भइरहेको छ,’ मन्त्री बस्नेतले भने, ‘पूर्वसूचना प्रणालीलाई व्यवस्थित गरेर सबैको पहुँचमा पुर्‍याउन सके सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ। यस कार्यशाला गोष्ठीमा पूर्वसूचना प्रणालीको सिकाइ आदानप्रदान गरेर थप व्यवस्थित गर्न सकियोस्।’

आगामी दिनमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ नयाँ आयाम थपिनेमा उनले विश्वास व्यक्त गरे। मन्त्री बस्नेतले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि नेपालले न्यूनीकरणका कार्यक्रमभन्दा जलवायुका अनुकूलनका कार्यक्रमलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्ने बताए।