विकास निर्माणका क्षेत्रमा धेरै काम गर्न बाँकी छ : प्रधानमन्त्री

Prachanda_PM-CM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार धेरै काम गर्न बाँकी रहेको बताएका छन्। सिंहदरबारमा आज आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकमा उनले सुशासनका क्षेत्रमा नयाँ काम थालनी गरेको तर विकास निर्माणका क्षेत्रमा अझै मेहनत गर्नुपर्ने बताएका हुन्।

‘चालु आर्थिक वर्षको यस अवधिमा हामीले खासगरी जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा महत्त्वपूर्ण कार्य गर्न सफल भएका छौँ, सुशासनको क्षेत्रमा पनि नयाँ पहल अघि बढाइएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तर, विकास निर्माणको क्षेत्रमा भने अपेक्षाअनुसार धेरै काम गर्नुपर्ने तथ्य आजको प्रगति विवरणले देखाएको छ।’

राष्ट्रिय योजना आयोगले १६औँ योजना तर्जुमाको कार्य अन्तिम चरणमा पुर्‍याएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले विकास प्रयासमा देखिएका मूलभूत सवाल तथा चुनौतीलाई समाधन गरी ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को लक्ष्य अगाडि बढाउनुपर्नेमा जोड दिए। उनले बदलिँदो परिवेशमा गत हप्ता घोषणा गरिएको सरकारका नीतिगत प्राथमिकता र साझा संकल्प आवधिक योजनाले समावेश गर्न आवश्यक छ भने।

प्रधानमन्त्री प्रचण्डले आगामी आवदेखि कार्यान्वयनमा आउने १६औँ योजनालाई कार्यान्वयनयोग्य तथा रूपान्तरणकारी बनाउन निर्देशन दिए। समितिको ५२औँ बैठकमा आव २०८०/८१ को पहिलो ६ महिनामा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा प्रदेश सरकारबाट भए गरेका कामकारबाहीको समीक्षा प्रस्तुत गरिएको छ।