मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्छ : उपमहासचिव पोख्रेल

Girirajmani Pokhrel
लोकपाटी न्यूज
0 Shares

कैलाली। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोख्रेलले मानव हितको संस्कृतिलाई अगाडि बढाउनुपर्ने बताएका छन्।

मार्क्सवादी अध्ययन फाउण्डेसनले आज कैलालीको धनगढीमा आयोजना गरेको ‘कला, साहित्य र संस्कृतिको प्रभाव र महत्त्व’सम्बन्धी प्रदेशस्तरीय खुला साहित्यिक बहस कार्यक्रममा उपमहासचिव पोख्रेलले अन्धविश्वास र परम्परागत कुराले समाजको विकास नहुने बताए।

‘हामीले हाम्रो कला, साहित्य र संस्कृतिलाई रक्षा गर्नुपर्नेछ। कुन कला संस्कृतिलाई रक्षा गर्ने भन्ने पनि हेर्नुपर्नेछ,’ उनले भने, ‘समाज अगाडि बढाउन उत्प्रेरित गर्ने साहित्य जीवनशील साहित्य हो। त्यस्ता कला संस्कृतिको जगेर्ना गर्न आवश्यक छ।’

उपमहासचिव पोख्रेलले भने, ‘जुन कला, साहित्य, संस्कृति अहिलेको युग सापेक्ष हुँदैन। वैज्ञानिक हुँदैन। आर्थिकरुपले धान्न नसक्ने हुन्छ। त्यो कला, साहित्य मर्छ। साहित्य, कला, संस्कृति समयानुकूल हुनुपर्छ। अबको साहित्य सिर्जना प्रविधिअनुसार अगाडि बढ्नुपर्छ।’ उनले समाजमा व्याप्त छाउपडी, छुवाछूतजस्ता विभेदलाई भत्काउन आवश्यक रहेको पनि बताए।