मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत प्राप्त

shalikram_jamkattel
लोकपाटी न्यूज
0 Shares

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। बागमती प्रदेशसभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका एक सय १० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन्। एक सय आठजना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) को २१, नेकपा (एकीकृत समाजवादी) को सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिएका छन्।

त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ। राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ। प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन्।

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो। नेपाल कम्युनिष्ट पार्टी (एकीककृत समाजवादी)लाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ। दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ। कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दैछ।

यसअघि पहिलोपटक एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ साल पुस २५ गते मुख्यमन्त्री बन्नुभएको थियो। संघ सरकारमा समीकरण परिवर्तनसँगै उहाँले दोस्रोपटक २०७९ साल चैत १० गते विश्वासको मत लिएका थिए। विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशबासीको हितमा काम गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्