समाजवाद प्राप्तिको एक मात्र आधार श्रमिक आन्दोलन

लोकपाटी न्यूज
0 Shares

आधुनिक राज्य प्रणालीमा ट्रेड युनियन आन्दोलनलाई राज्यको पाँचौं अंगको रूपमा स्विकारिएको छ। अबको ट्रेड युनियन आन्दोलनले मजदुरका मुद्दामा मात्र सीमित हुनहुन्न। उसले त समाजवादी अभियानमा मजदुरहरूलाई अभिप्रेरित गर्न सक्नु पर्दछ। यो अभियानका नायक मजदुर नै हुन पर्दछ। मजदुरले साहुको काम गरेर जीवन निर्वाह गर्ने नै हो। साहुले मजदुरमाथि त्यो बेलासम्म शोषण गर्दछ, जुन बेलासम्म शोषणको जालो कायमै रहन्छ। शोषणको जालो त्यो बेलासम्म कायम नै रहन्छ, जुन बेलासम्म यहाँको राज्य व्यवस्था शोषकको पक्षमा रहन्छ। आज आलोक(आवरण)मा कम्युनिस्ट सरकार छ। तर, त्यसो हैन, यहाँ कम्युनिस्टको सत्ता छैन। कम्युनिस्ट त पुँजीवादको प्राङ्गारिक मल जस्तै बन्न पुगेको छ। जसका कारण मजदुरले आफूले आफैलाई भुल्न र गन्तव्य विहीन अवस्थामा जिउन बाध्य छन्। भौँतारिँदै कहिले पुँजीपतिको प्रशस्तिमा पुग्दछन् त, कहिले शोषकहरूको रक्षा कबज बनेर बसेका छन्।

भ्रमबाट मुक्त हुन जरुरी

मजदुरमा कम्युनिस्टप्रति यस्तो भ्रमको नशा चढेको छ, जसबाट उनीहरू कहिल्यै छुटकारा पाउने अवस्था देखिएन। यस्तो किन भयो ? थाहा छैन ? हिजो मजदुरको हकहितको नाममा आवाज उठाउनेहरू आज बलशाली पुँजीपति बनेका छन्। कि, ठेकदार बनेका छन्, कि अस्पताल र बोर्डिङका मालिक बनेका छन्। कि त सहकारीका नाममा, जग्गा दलाली र ठेकदारीका नाममा आलिसान जीवन व्यतीत गर्दै छन्। कि त राजनीतिक भागबण्डामा कमिसन र दलालको चाकरी गर्दै आगामी चुनावी खर्च र पारिवारिक दरिद्र इच्छाहरूका पछि कुदेका छन्।

आजको हाम्रो समाज सयौं वर्षदेखि पुँजीवादका विकृतिले मलजल गरेर ल्याएको समाज हो। समाजले हामीलाई सही र गलतको पारखसम्म गर्न सक्ने तुल्याएको छैन। अचेतन मनस्थितिभित्रैबाट बसेका धारणाविरुद्ध क्रान्ति गर्ने तागत भनेको समाजवादी चेतनाको बलले मात्र दिने हो। त्यो तागत दिने कुरामा नेपालका कम्युनिस्टहरू कुरामा दर्बिला र व्यवहारमा लुला छन्। कुराले चिउरा भिज्दैन! चिउरा भिजाउने काम कम्युनिस्ट पार्टीले गर्न जरुरी छ। शोषणको कुरा उठाउनासाथ मानिस शोषितको विरुद्धमा देखिन्छन्। स्वयं शोषणमा परिरहेको मजदुर पनि यो मनोदशाबाट मुक्त छैन।

एउटा शोषणमा परेको मजदुरले सोच्छ कि, शोषणको कुरा उठाउनु भनेको रक्तपात निम्त्याउनु हो। अस्थिरता निम्त्याउनु हो। भएका विधि विधानलाई चुनौती दिनु हो। यस्तो पाप गर्न हुँदैन। धनीलाई धनै-धन गरिबलाई ऋणै-ऋण भन्ने भनाइ प्रतिको विश्वास त्याग्न नसकेसम्म केही हुने देखिँदैन। यो अवस्था यही भाव भूमिले पैदा गरेको चेतनाको अवस्था हो। समयको विकाससँग दाँजेर हेर्दा यो अवस्था पनि जंगली अवस्थाको चेतनाभन्दा माथि उठ्न नसेको चेतना हो। भ्रमले पैदा गरेको अन्धकार युक्त साम्राज्य हो।

जिम्मेवार कम्युनिस्ट पार्टी र मजदुर युनियनले यो कुरा पहिला बुझ्न पर्दछ। यहाँका मजदुरहरूको महत्त्वाकांक्षा डलरको पासोमा छ। ट्रेड युनियनले त्यसको विरासत थेगेको छ। मूल मुद्दालाई बङ्ग्याइएको छ। यसमा कम्युनिस्ट पार्टीहरू संवेदनशील हुन जरुरी छ। आजको लागि मात्र हैन भोलिको लागि सोच्न सक्ने नागरिक तयार गर्नु कम्युनिस्ट पार्टीको आजको कार्यभार भएकाले समस्त मजदुरहरूलाई क्षणिक स्वार्थमा र कुनै व्यक्तिको मुद्दामा भन्दा सामूहिक मामिला र दीर्घकालीन सोच विकास गर्ने गरी प्रशिक्षित गर्न जरुरी छ। अर्थात् मार्क्सवादी विश्व दृष्टिकोण स्पष्ट हुने गरी प्रशिक्षित गर्न जरुरी छ। साथै मुलुकमा समाजवाद स्थापना गर्ने लक्षका साथ समाजवादी क्रान्तिको कार्यभारलाई वस्तुगत परिस्थितिको व्यवहारिक विश्लेषण गर्दै सोही ढंगले कार्यदिशा तय गर्नु जरुरी छ।

चीनमा १९४९मा जनवादी क्रान्ति भएपछि सुरु भएको पुनः निर्माणको अभियानले धराशायी भएको चिनिया अर्थतन्त्र बचाउन मद्दत गरेको थियो। किनकि, त्यस वेला उत्पादनको गिर्दो अवस्था थियो, यातायात संरचनाको असुविधाले उत्पादन, बजारीकरण लगायत ठूला परिमाणका बन्द व्यापार गर्न सकिने अवस्था थिएन। त्यस्तो अवस्था देशलाई आर्थिक संकटबाट बचाउनका लागि आर्थिक उत्पादन वृद्धिमा जोड गर्न, मितव्ययी कम गर्न, भ्रष्टाचार अनियमितता नियन्त्रण गर्न अनावश्यक खर्च नियन्त्रण गर्न र कर्मचारी तन्त्रको कामचोर प्रवृत्तिका विरुद्ध सुरु गरेको सानफान आन्दोलनमा मजदुरको भूमिका अग्रणी रह्यो र चीनको संकट कम गर्न सहयोगी रहन पुग्यो।

नेतृत्व सही छ भने निर्णय सही नै हुन्छ। अरूलाई दोष दिन आफ्नो कमजोरी छिपाउनु हो भन्ने कुरा कम्युनिस्ट नेतृत्वले सधैँ बुझ्नै पर्दछ। यसैलाई दृष्टिगत गरी चिनिया कम्युनिस्ट पार्टीको सरकारले अर्को उफान आन्दोलन सुरु गर्‍यो। जसअनुसार घुस लिने र दिने दुवै आन्दोलनको निशानामा परे। कर छली गर्ने, सम्पत्ति चोरी गर्ने, सरकारी ठेक्कामा धाँधली गर्ने, सरकारी आर्थिक सूचनाहरू चोरी गर्ने जस्ता विरुद्ध यो आन्दोलन लक्षित हुन पुग्यो। यस अभियानले आर्थिक समृद्ध प्रदान गर्‍यो, सामाजिक रूपान्तरणलाई बढवा दियो र सेवा सुविधालाई सरल र सुसंस्कृत तुल्यायो।

यही आन्दोलनका कारण सरकारी संगठनहरू सुदृढीकरण हुन पुग्यो, सरकार र जनसंगठनबीच निकट सम्बन्ध कायम हुन पुग्यो, सरकारी कामकाज एउटा निश्चित नीति र पद्धतिमा चल्न थाल्यो, जसले गर्दा अनुशासन कायम हुन पुग्यो, कर्मचारीको क्षमता र दक्षतामा वृद्धि हुन पुग्यो। नेपालका कम्युनिस्ट पार्टीका लागि ती कार्यक्रम र अभियान आदर्श बन्न सक्नु आजको कम्युनिस्ट आन्दोलनको आवश्यकता हो।

आन्दोलनले जनतामा एउटा नयाँ आशा

यो आन्दोलनले जनतामा एउटा नयाँ आशा जगायो। जसअनुसार सरकारी खर्चमा व्यापक कटौती हुन पुग्यो। यस आन्दोलनले पुँजीपति, व्यापारी र उद्योगपतिहरूको अवैध गतिविधिमाथि प्रभावकारी नियन्त्रण लगायो। पुँजीवादी उद्योग र वाणिज्य क्षेत्र राज्यको दायराभित्र आयो। आर्थिक पुनःनिर्माण अभियानको ५ वर्ष पुग्दा अर्थात् १९५४ सम्ममा चीने एउटा कठिन परिस्थितिको सामान गरेर आफ्ना रक्षान र घुरानहरू धेरै सफा गरी आर्थिक रूपमा तुलनात्मक रूपमा मजबुत बनायो। यस अभियानको परिणामले कृषि उत्पादन वृद्धि भई ५६ प्रतिशतको हाराहारीमा पुग्यो। मूल्य वृद्धि नियन्त्रण गर्न सफल भयो। आर्थिक पुनरुत्थान, राजश्व र खर्चमा सन्तुलन, उपभोग्य वस्तुहरूको मूल्यमा स्थिरताले विशाल आर्थिक निर्माणका आधार तयार हुन पुग्यो। यसबाट अब राष्ट्रिय अर्थव्यवस्थाको पुनरुत्थानको युग सुरु भई आर्थिक समृद्धि र विकासको नयाँ युगमा चीन प्रवेश गरेको अवस्था रहन पुग्यो। (श्रोत: अबको श्रम आन्दोलन र श्रम कानुनबाट) के नेपालमा यी काम गर्ने प्रयास अगाडि बढाउन मिल्दैन ? आज सरकार जाला के फरक पर्दछ ! भोलि कम्युनिस्टको सत्ता प्राप्ति अवश्य हुन्छ। मात्र कम्युनिस्ट आदर्शप्रति विश्वास भने चाहिन्छ।

मजदुर नै अभियानका आधार

चीनको अभियान त्यसै पुरा भएको थिएन। त्यसका लागि मजदुर संगठनले मात्र दसौं लाख मजदुरहरूलाई स्वेच्छाले आर्थिक निर्माणमा हात बढाउन आह्वान गरेको थियो। मजदुर संगठनको मुख्य उद्देश्य भनेकै एकातिर राज्यले सुरु गरेको उत्पादन अभियान सफल तुल्याउन र अर्कोतिर नयाँ उद्योगहरूको सञ्चालन र विकासका लागि पैसा संकलन गर्नु थियो। यसका साथै एकातिर राष्ट्रिय पुँजीको वृद्धि गर्न र अर्कोतिर मजदुरहरूको परिश्रमिक बढाउनु, श्रमिक बिमा लागु गर्नु, श्रमिकको काम र जीवनस्तरमा सुधार ल्याउनु थियो। अभियानको सफलतामा काम गर्दै मजदुरहरूमा यो ज्ञान दिलाउन प्रयास गरिएको थियो कि- ‘तत्कालीन स्वार्थ दीर्घकालीन स्वार्थका अगाडि सधैँ गौण हुन्छ’।

पुँजीवादी क्रान्तिका लागि अनुकूल

नेपालको सन्दर्भमा हेर्दा के नेपालको मजदुरहरूले यहाँको समाजवादप्रतिको लडाइँलाई कसरी आत्मसाथ गर्ने त ? समाजवाद आउने आधारसम्म तयार भएको हो, त्यसो भन्नुको मतलब यहाँ पुँजीवादी क्रान्तिका लागि अनुकूल परिवेश बन्दै छ किनकि, पुँजीवादको आधारको रूपमा रहेका सामन्तवाद परास्त भएको छ। अब सामन्तवादका अवशेष हटाउँदै समाजवाद प्राप्तिको मार्गमा अगाडि बढ्न जरुरी छ।

श्रमिक वर्गलाई उत्प्रेरित र परिचालित गरौं

यसका लागि सर्वप्रथम आर्थिक विकासको अभियानमा साथ दिन जरुरी छ। जसअन्तर्गत उत्पादन वृद्धिलाई उत्पादकत्व वृद्धिमा रूपान्तरण गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने दिशामा अगाडि बढ्न जरुरी। यसका लागि वैचारिक प्रशिक्षण प्रदान गरी हरेक मजदुर संगठनका साथीहरू काम गरेको स्थानमा श्रमिक वर्गलाई उत्प्रेरित र परिचालित गर्दै समाजवादलाई मजदुर संगठनको संस्कृतिको रूपमा विकास गर्न आवश्यक छ। दोस्रो पक्ष, राष्ट्रियता संरक्षण र स्वाधीन अर्थतन्त्र निर्माणको विषय गम्भीर चुनौती र बहसको विषय बनाउन पर्दछ। यसका लागि देश व्यापी रूपमा खबरदारी गर्दै विभिन्न अभियानका साथ अगाडि बढ्न जरुरी छ।

सुलभ आधारभूत आवश्यकताको माग

स्वाधीन आत्मनिर्भर अर्थतन्त्र निर्माणमा पनि मजदुरहरूको भूमिका प्रधान रहनु पर्दछ। जसका कारण राष्ट्रिय पुँजीको निर्माण हुन पुग्दछ। आज नेपालको अवस्थालाई हेर्दा: सर्वसाधारण जनताको आय क्षमता कमजोर बन्न पुगेको छ। रोजगारमा संलग्न श्रमिकले पाउने पारिश्रमिक न्यून छ। आय रकमले उपभोग्य वस्तु खरिद गर्न समेत नपुग्ने अवस्था छ। यसले गर्दा बचत कमजोर छ। जब बचत कमजोर हुन्छ, राष्ट्रिय पुँजी निर्माणको दर पनि न्यून हुने भइगयो। शिक्षा, स्वास्थ्य, आभास, खाद्यान्न, खानेपानी, यातायात सञ्चार जस्ता जनता आधारभूत आवश्यकता जनताका लागि महँगो साबित भएका छन्। आधारभूत आवश्यकता सर्वसुलभ र सस्तो पाउनु नागरिकको अधिकार हो। तर, आज यो हरण हुन पुगेको छ। यो आन्दोलन मजदुर संगठनको आफ्नो आन्दोलन बन्नु पर्दछ।

समाजवादका लागि सहकारी

आज नेपाली जनतामा सहकारी भनेको जनता लुट्ने संस्था रहेछ भनेर चिनिन थालेको छ। हुनत नेपालमा रहेको यी सहकारी पुँजीवाद टिकाउने उद्देश्यले स्थापना गरिएका हुन्। हामीले यसलाई समाजवाद स्थापना गर्ने साधनको रूपमा लान सकिने स्थान छ। तर सकिरहेका छैनौं। हामी बारम्बार हारिरहेको भान हुन्छ। नमुना समाजवादी सहकारी सञ्चालन गर्ने मुख्य वर्ग भनेकै मजदुर हुन, जसले किसानलाई पनि साथ लिएर यो अभियानसँगै समाजवादी अभियानलाई अगाडि लान सक्ने हुँदा यसमा ध्यान दिन जरुरी छ।

भ्रष्टाचार र अनियमितता विरुद्ध जुटौं

आर्थिक अनियमितता र भ्रष्टाचार देशको शत्रु हो। यही शत्रु यहाँ राजनीति, प्रशासनिक यन्त्रहरू अड्डा अदालतमा देखिनु मजदुर आन्दोलनको लागि कलंक हो। मजदुर त्यस्ता जनताका पहरेदार हुन, त्यस्ता भ्रष्टाचार विरोधी आन्दोलनका करेन्ट हुन्न। उनीहरूले चाहेमा राज्यले भन्दा छिटो आफूले यसलाई रोक्न सक्दछ। विडम्बना यहाँका मजदुरहरू यस मामिलामा चुँसम्म बोलेको पाइँदैन। यसैले मजदुर संगठनहरू यसमा बढी संवेदनशील हुन जरुरी छ। किनकि आर्थिक अनियमितता, भ्रष्टाचार र चुहावटका कारण देशको अर्थतन्त्र धराशायी बन्दै छ।

दलालका खुनी पन्जाबाट मुक्त

दलाल पुँजीवाद आज हाम्रो राजनीति, आचार विचारदेखि अगाडि बढेर यतिखेर त हाम्रा घरघरमा आँगन पिँडी मझेरीदेखि चुला चौका, खोपी, र मुलच्छिन हुँदै घरको सबै कुनाकाप्चासम्ममा पनि भित्रिन सकेको छ। महल र बङ्गला मात्र हैन। साना ठुला होटेल र रेस्टुराँमा मात्र हैन। पसल, चोक गल्ली सहर बजार, कहाँ छैन, यातायात सञ्चार, खानेपानी जस्ता हरेक आधारभूत आवश्यकताका बस्तुभित्र दलाल पुँजीवादका खुनी पन्जा परेका छन्। गरिब किसान र मजदुर त्यो विष पिउन बाध्य बनेका छन्। यस्तो अवस्थामा एउटा कुनाबाट यसको दियो जलाउने काम मजदुरले गर्ने पर्दछ। ऊ मात्र एउटा जनताको त्यस्तो सच्चा सिपाही हो, जसले यसको विरुद्ध पेचिलो आन्दोलन सञ्चालन गर्न सक्दछ।

प्रतिनिधित्वको सुनिश्चितता खोजौं

आजका मजदुरहरू एकातिर देश र जनताको पक्षमा उभिन जरुरी छ भने, अर्कोतिर खुद आफ्नै अर्थात् मजदुरहरूकै लागि पनि लडाइ लड्न बाँकी छ। यसका लागि पहिलो त नीति निर्माण तहमा मजदुर प्रतिनिधित्वको सुनिश्चितता हुन जरुरी छ। त्यसपछि सामाजिक सुरक्षाको प्रत्याभूति, चर्को श्रम शोषण विरुद्ध अभियान सञ्चालन गरी श्रमिक जनताको सेवा सुरक्षा, वृत्ति विकास, जीवन निर्वाह गर्न पुग्ने पारिश्रमिक, संगठन निर्माण र श्रमिक कानुन निर्माणदेखि श्रमिक जनतालाई समृद्धि तुल्याउनेसम्मका काम र भूमिकाका लागि मजुर संगठनहरूले छिटै सशक्त आन्दोलनको तयारी गर्न जरुरी छ।

प्रविधिसँग अभ्यस्त बनौं

आज विश्व साम्राज्यवाद विश्व एकाधिकार पुँजीवादमा आफूलाई रूपान्तरण गर्दै अगाडि बढिरहेको छ। यसको साथै सञ्चार प्रविधिमार्फत विश्व एकाधिकारलाई एकक्षत्र आफ्नो मुठ्ठीमा राख्न हरसम्भव प्रयासरत छ। यस्तो अवस्थामा अबका मजदुरहरू पनि समय अनुकूलन हुन जरुरी छ। हरेक कुरा पद्धति भित्र सञ्चालित छ। सञ्चार जगत् प्रकृतिका तिनै पद्धतिहरूको अनुसरणबाट अगाडि बढेको हो। आजको मजदुर संगठनले पनि पहिला आफूलाई आजको विज्ञान प्रविधिका हरेक नयाँ विधि पद्धति र तौरतरिका बारे अभ्यस्तै गर्दै अगाडि बढ्न पर्दछ। नत्र हाम्रो कमजोरी माथि पुँजीवादीहरूका सैतानहरू हामीलाई निरीह साबित गर्न आउनेछन्। समयमै सचेत रहन आवश्यक छ।

अहिले आर्थिक उदारीकरण र निजीकरणको नाममा जुन श्रम क्षेत्रमा अस्थायी, करार कर्मचारी र ज्यालादारी श्रमिक बढ्दै छ। श्रमिकलाई आन्दोलनका लागि हतोत्साहित तुल्याइँदै छ। यस्तो अवस्थामा मजदुर संगठनले आफूलाई बढी वैचारिक स्पष्टता र सक्रिय तुल्याउन आवश्यक छ। मजदुरसँगको सम्बन्धलाई घनिष्ठ तुल्याउँदै उनीहरूको काम र मामको ग्यारेन्टीको प्रत्याभूति दिलाउँदै श्रम र संगठन दुवैमा उत्तिकै जोस र सक्रियताका साथ लाग्न प्रेरित गर्नु परेको छ। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्