माओवादी मिल्नुपर्ने बेला आयो : महासचिव विप्लव

biplav
लोकपाटी न्यूज
0 Shares

कैलाली। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन्। सो पार्टी निकट युवा संगठन नेपालद्वारा शनिबार धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताएका हुन्।

‘माओवादी मिल्नुपर्छ भन्ने झुपडी/झुपडी र घर/घरको आवाज छ। देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ,’ उनले भने। महासचिव विप्लवले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए।

समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उनले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए। उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभई आशावादी हुनुपर्ने बताए।

‘जुन देशका युवा निराश हुन्छन्। त्यो देशका जनताले दुःख पाउँछन्। हाम्रा देशका युवा निराश हुनुपर्दैन। दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन,’ महासचिव विप्लवले भने, ‘हामी यहीँ काम गर्न सक्छौं। तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ/सात करोड मान्छेलाई खान पुग्छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्