कोशी सरकारबाट बाहिरियो माओवादी, मन्त्रीले दिए राजीनामा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। माओवादी केन्द्रका मन्त्रीहरूले सोमबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका छन्।

संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र नयाँ सरकार गठनको प्रक्रिया थाल्ने निर्णय गरेलगत्तै मन्त्रीहरूले राजीनामा दिएका हुन्। कोशी सरकारमा माओवादीबाट गणेश उप्रेती वनमन्त्री, राजेन्द्र कार्की सामाजिक विकासमन्त्री र नारायण बुर्जामगर खानेपानीमन्त्री छन्।

नेकपा एसले भने अहिलेसम्म मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छैन। केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल भएसँगै कोशी प्रदेश सरकारमा पनि सरकार परिवर्तनको कोर्स सुरु भएको छ।

नेकपा एमालेले पनि कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिने र एमाले-माओवादीले संयुक्त रूपमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।