विश्वकप खेल्ने क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। आगामी जेठमा अमेरिका र वेस्टइन्डिजमा आयोजना हुने आइसिसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रयोग गर्ने नयाँ जर्सी सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले संयुक्तरुपमा नेपालको नयाँ जर्सी सार्वजनिक गरे।

नेपालको नयाँ जर्सीमा रातो, हल्का सेतो र नीलो रङ्ग मिश्रित गरिएको छ भने दुवै काँधमा नेपालको झण्डा अंकित रहेको छ। त्यस्तै जर्सीको तल्लो भागमा सगरमाथा अंकित छ भने छातीको एक भागमा प्रयोजकको लोगो र अर्को भागमा क्यानको लोगो रहेको छ।

टी ट्वान्टी विश्वकपमा विभिन्न २० टोलीको सहभागिता रहेको छ। जसलाई समूह ए, बि, सि र डि गरी चार समूहमा विभाजन गरिएको छ। नेपाल भने समूह डि मा रहेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्डस् छन्।

त्यस्तै समूह ए मा आयोजक अमेरिकासहित भारत, पाकिस्तान, आयरल्यान्ड र क्यानडा छन् भने समूह बी मा इङ्ग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड र ओमान छन्। त्यस्तै समूह सी मा न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा र पपुवा न्युगिनी छन्। हरेक समूहका शीर्ष दुईमा रहने दुई टोली सुपर आठमा पुग्नेछन्। नेपालले विश्वकपमा दोस्रो पटक सहभागिता जनाउन लागेको हो। यसअघि नेपालले सन् २०१४ मा विश्वकप खेलेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्