सशस्त्र प्रहरीको गोदममा भएको आगलागी पूर्ण नियन्त्रणमा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। चन्द्रागिरि नगरपालिका सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाम घरमा सोमबार साँझ सुरु भएको आगलागी आज बिहान मात्रै पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

गोदाममा लागको आगलागी आज बिहान करिब २ बजेतिरपूर्ण रुपमा नियन्त्रणमा आएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए। उनले भने, ‘आगो आज बिहान करिब २ बजे पूर्ण नियन्त्रणमा आएको छ, हाम्रो केन्द्रीय कार्यालयस्थित भण्डार महाशाखामा रहेका कागजात र बिल हेरेर आगलागीबाट के कति क्षति भएको छ जानकारी हुने छ।’

‘वाटर क्यानन’सहित सात वटा दमकल, स्काभेटर तथा एक हजारभन्दा बढी सुरक्षा फौज परिचालन गरी आगो नियन्त्रणमा लिइएको प्रवक्ता खड्काले बताए। उनका अनुसार आगलागी भएको उक्त गोदाममा सशस्त्र प्रहरीका बुटदेखि अन्य लत्ताकपडाका सामान राखिएको थियो। उक्त आगलागीका विषयमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा विद्युत् चुहावटबाट आगलागी भएको अनुमान गरिएको प्रवक्ता खड्काले बताए। उनका अनुसार सशस्त्र प्रहरी मुख्यालय हलचोकमा ठाउँ अभावका कारण अन्य आवश्यक बन्दोबस्तीका सामग्री उक्त गोदममै राख्ने गरिएको थियो। आगलागीपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सोमबार नै घटनास्थलमा पुग्नु भई आगलागी र त्यसबाट भएको क्षतिबारे जानकारी लिनुका साथै जाँच गर्न निर्देशन दिएका थिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्