रुसले युक्रेनमा रातभर ४० क्षेप्यास्त्र र ४० ड्रोन प्रहार गर्‍यो : जेलेन्स्की

Russia Ukraine War
लोकपाटी न्यूज
0 Shares

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीबार राति रुसले ‘महत्त्वपूर्ण पूर्वाधार’लाई लक्षित गर्दै युक्रेनमा ४० भन्दा बढी क्षेप्यास्त्र र ४० वटा ड्रोन प्रहार गरेको बताएका छन्।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जाल एक्स मार्फत रुसी हमलाका बारेमा जानकारी दिँदै केही क्षेप्यास्त्र र ड्रोनलाई युक्रेनी प्रतिरक्षा फौजले सफलतापूर्वक खसालिदिएको बताएका छन्। रुसले युक्रेनका विद्युत, सञ्चार, रेल्वे समेतका महत्त्वपूर्ण पूर्वाधारलाई लक्षित गरेकामा उनले असन्तुष्टि व्यक्त गरेका छन्। यी आक्रमणबाट कुनै पनि व्यक्ति हताहत नभएको पनि युक्रेनको भनाई छ।

रुसले राजधानी शहर किभ, जापोरिझिया र ओडेसाका साथै पोल्यान्डसँग सीमा जोडिएको लभिभ शहरलाई पनि लक्षित गरी आक्रमण गरेको छ। राष्ट्रपति जेलेन्स्कीले युक्रेनको दोस्रो ठूलो शहर खार्किब र त्यस वरपरको क्षेत्रमा पनि क्षेप्यास्त्रहरूबाट आक्रमण गरेको बताएका छन्। यस शहरलाई केन्द्रित गरेर पछिल्ला दिनहरूमा रुसले निरन्तर आक्रमण गरिरहेको छ।

युक्रेनका गृहमन्त्री आइगोर क्लिमेन्कोले देशका विभिन्न भागमा सयौं उद्धारकर्मीहरू परिचालन गरिएको जानकारी दिए। यसैबीच, रुसले पनि रुसका विभिन्न शहरलाई लक्षित गरी प्रहार गरिएका १२ वटा युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। युक्रेनले पनि रुसका विभिन्न भागमा ड्रोन मार्फत केही महिनादेखि लगातार हमला गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्