पार्टीलाई गन्तव्यमा पुर्‍याउन स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्छ : अध्यक्ष ओली

KP_Oli
लोकपाटी न्यूज
0 Shares

ताप्लेजुङ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन्। आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिए।

आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी संगठनमा लाग्नुपर्ने बताएका हुन्।

आफू र आफ्नो पार्टीलाई गन्तव्यमा पुर्‍याउनका लागि हरेक कार्यकर्तामा स्पष्ट विचार, अनुशासन र सक्रियता आवश्यक पर्ने उल्लेख गर्दै सोही अनुसार अघि बढेर मिसन ८४ लाई पूरा गर्नुपर्ने उनले बताए। करिब तीन करोड २५ लाख बढीको लागतमा निर्माण भएको भवनको उद्घाटन अघि अध्यक्ष ओली चीनसँगको सीमावर्ती क्षेत्र ओलाङचुङ्गोला पुगेका थिए। हेलिकप्टरमार्फत त्यहाँ पुगेका ओलीले सीमावर्ती क्षेत्रको हवाई अवलोकन समेत गरे।

यस्तै उनले विराटनगरको रानी भन्सारबाट धनकुटा मूलघाट हुँदै ओलाङचुङ्गोला-टिपताला जोड्ने सडकको ट्र्याक खुलेसँगै बुधबार साँझ ओलाङचुङगोलामा पहिलो पटक सदरमुकाम तर्फबाट पुगेका सवारी साधनका चालकलाई सम्मान पनि गरेका थिए। कार्यक्रममा अध्यक्ष ओलीसँगै उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, रक्षामन्त्री हरिप्रसाद उप्रेती र पार्टी सचिव योगेशकुमार भट्टराई समेत ताप्लेजुङमा आएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्