विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔं : राष्ट्रपति पौडेल

Ramchandra_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरूलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन्।

एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले अध्ययन, वैदेशिक रोजगारी, व्यवसायका साथै विविध कारणले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्कने वातावरण बन्नुपर्ने धारणा राखेका हुन्।

यसप्रति आफूले चासो राख्ने गरेको उल्लेख गर्दै उनले आफू कार्यकारी तथा राजनीतिक भूमिकामा नभए पनि सरोकारवालालाई यस विषयमा निरन्तर सम्झाउने गरेको जानकारी पनि दिएको एएनओका महासचिव चूडामणि भट्टराईले जानकारी दिए।

अध्ययन होस् या विभिन्न प्रयोजनले विदेश जाने गरेका नेपालीहरूले आफू रहेको देशमा आर्जन गरेको सीप र ज्ञान स्वदेशमै आइ त्यसलाई प्रयोगमा ल्याउने वातावरण बनाउन मुलुकका सम्बद्ध सबै क्षेत्र र व्यक्तिहरू लाग्नुपर्नेमा उनले जोड दिएका हुन्।

उनले नेपाली भाषा र संस्कृतिका माध्यमबाट विश्वमा रहेका नेपाली तथा नेपालीभाषीहरुलाई एकीकृत गर्ने एएनओको अभियानको प्रशंसा गर्दै यसलाई आगामी दिनमा पनि निरन्तरता दिन सुझाए।

त्यसअवसरमा राष्ट्रपति पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई नेपाली भाषाको तीर्थस्थल बनाउने अभियानमा आफू लागेको जानकारी पनि गराए। विश्वका विभिन्न देशमा रहेका नेपालीभाषीहरु एक पटक यहाँ पुग्नै पर्ने धारणाको विकास गरी यसलाई जीवन्त राख्न भानु जन्मस्थललाई नेपाली भाषा र साहित्यको तीर्थस्थल बनाउनुपर्नेमा उनको जोड थियो। -रासस