प्रधानमन्त्री प्रचण्डद्वारा नयाँ वर्षको शुभकामना

Prachanda
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन्। नयाँ वर्ष २०८१ सालको अवसरमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

“यस साझा लक्ष्यलाई प्राप्त गर्न हामी सबै नेपालीबीच एकता, पारस्परिक मेलमिलाप, आत्मीयता र सौहार्दपूर्ण भावनालाई अभिवृद्धि गर्दै नयाँ वर्षलाई उपलब्धि र समृद्धिको ऐतिहासिक मानकका रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै फेरि एकपटक समस्त नेपालीमा शुभकामना व्यक्त गर्दछु”, प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन्।

सङ्घीयताको प्रभावकारी कार्यान्वयन, सुशासनका निम्ति चालिएका दूरगामी कदम र प्राप्त उपलब्धि, सेवा प्रवाहमा सरलता, समस्याग्रस्त आर्थिक क्षेत्रको सुधारमा अग्रसरता, जनताका समस्याको प्रत्यक्ष सम्बोधन, देशको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक क्षेत्रमा प्राप्त सफलता २०८० सालका आशालाग्दा राष्ट्रिय उपलब्धिका रुपमा रहेको प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री दाहालले २०८० साल पूरा भई नयाँ वर्ष २०८१ साल प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षको सुरूआतसँगै सबै नेपालीमा नयाँ जोश, नयाँ उमङ्ग र नयाँ उत्साहका साथ आ–आफ्नो कर्मक्षेत्रमा जुट्नेछौँ भन्ने उनले विश्वास व्यक्त गरेका छन्।विगत वर्षका अनुभवबाट शिक्षा लिई नयाँ वर्षमा अझ बढी मेहनतका साथ आ–आफ्ना कार्यक्षेत्रमा खटिई सुशासन, समृद्धि र सामाजिक न्यायका निम्ति समर्पित हुन प्रधानमन्त्री दाहालले आह्वान गरेका छन् ।