एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई

लोकपाटी न्यूज
0 Shares

खोटाङ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी भएका छन्। शुक्रबार साँझ सम्पन्न आठौं जिल्ला अधिवेशनले उनलाई चयन गरेको हो।

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताएका छन्। दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका-१४ बुइपा निवासी राई सातौं जिल्ला अधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए।

पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी भएका छन्। पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भएका थिए।

एक उपसचिवका लागि सात जनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी भएका छन्। समावेशी उपसचिवमा कविता राई विजयी भएका छन्। आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिएका छन्।

यसैगरी, एक जना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी भएका छन्। दलित कोटामा चार जनाको प्रतिस्पर्धा भएको थियो। दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी भएका छन्। उक्त कोटामा तीन जनाको प्रतिस्पर्धा भएको थियो।

खुला महिला कोटामा कुसुम राई, प्रतिमा विष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी भएकी छन्। खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी भएका छन्। पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्