समाजवादको आधार तयार पार्न समाजवादी संस्कृति आधारभूत शर्त हो : प्रधानमन्त्री

Prachanda_PM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्न सांस्कृतिक रूपान्तरण र समाजवादी संस्कृतिको दिशाबोध आधारभूत शर्त भएका बताएका छन्।

नयाँ वर्ष २०८१ का अवसरमा सांस्कृतिक संस्थानले आज यहाँ आयोजना गरेको ‘शुभारम्भ सांस्कृतिक साँझ-२०८१’लाई सम्बोधन गर्दै उनले समाजवादीको संस्कृति निर्माणको पक्षमा सम्पूर्ण देशभक्त एवं प्रगतिशील समुदायले योगदान गर्न सक्नुपर्ने बताएका हुन्।

‘नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त भएको संविधानले समाजवाद उन्मुख राज्य निर्माणको संकल्प गरेको छ, देशको अग्रभागमा रहेर विशाल राष्ट्रिय जागरण पैदा गर्न सांस्कृतिक संस्थानलगायतले महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

सांस्कृतिक नीति, साधन स्रोत, पूर्वाधार, स्रष्टा र कलाकारको प्रोत्साहनलगायत विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा सांस्कृतिक संस्थानका चासोलाई सम्बोधन गरिने विश्वास दिलाए।

प्रधानमन्त्री प्रचण्डले संस्थानद्वारा आयोजित सांस्कृतिक साँझले आफूलाई छुट्टै ऊर्जा र प्रेरणा दिएकोसमेत बताए। उनले भने, ‘यस कार्यक्रममा प्रस्तुत भएका प्रस्तुतिहरूले मलाई छुट्टै ऊर्जा र प्रेरणा प्रदान भएको छ। कार्यक्रममा विभिन्न भाषाभाषी, सांस्कृतिक विविधता, प्रदेशगत सांस्कृतिक प्रस्तुति, देशभक्तिपूर्ण भावनाले ओतप्रोत प्रस्तुतिले देशको राष्ट्रिय एकता र सांस्कृतिक विविधताको आत्मसातीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण प्रेरणा प्रदान गरेको ठानेको छु।’