कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य हो : अध्यक्ष ओली

KP sharma Oli
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ लैजान राष्ट्रिय शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको सो पार्टीको संसदीय दलको बैठकमा उनले राष्ट्रिय शक्ति मिलेर मुलुकलाई सुशासन र समृद्धिको बाटोतर्फ अगाडि लैजानुपर्नेमा जोड दिए। उनले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानी पुर्‍याउनेहरूसँग भने एकता नहुने स्पष्ट पारे।

अध्यक्ष ओलीले अहिले आफूले वामपन्थी शक्तिहरूलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्त्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताए। उनले संसदीय समितिमा पार्टीको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिए। ‘संसदमा हाम्रो सहभागिता सक्रिय र प्रभावकारी हुनुपर्दछ। गलत निर्णय संसदबाट हुनुहुँदैन। भोलिका दिनमा संसद्को इतिहास हेर्दा पनि संसदले यस्तो गरेछ भन्ने नहोस्,’ उनले भने।

अध्यक्ष ओलीले समितिमा कुनै विषयमा कहिलेकाहीँ स्वार्थ समूहले प्रभावित गर्ने भएकाले त्यस्ता स्वार्थ समूहकाहित हाबी भएर राष्ट्रियहित कमजोर बनाउन नहुने धारणा समेत राखे। उनले सही दिशामा राजनीतिक फर्कँदै गरेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा देखिएको विवादले केही प्रभाव नपार्ने बताए।

उनले समृद्ध नेपाल र सुखी नेपाली लक्ष्य पूरा गर्न समाजवाद आवश्यक रहेको बताए। ‘राजनीतिक धेरै बिग्रेपछि जनतामा असन्तुष्टि र अन्योल बढ्छ,’ उनले भने। उनले एमालेका लागि शक्तिको खेलमा लाग्नुभन्दा मुलुकको राष्ट्रियहितमा काम गर्नु अहिलेको आवश्यकता भएको बताए।

‘अहिले एमालेले कतिपयले यो वा त्यो मन्त्रालय लिएन भनेर हल्ला चलाएका छन्। सबै मन्त्रालय उत्तिकै महत्त्वपूर्ण छन्,’ उनले भने, ‘हाम्रा लागि मन्त्रालय वा पद ठूलो कुरा होइन। मुलुक विकासका लागि नयाँ गठबन्धन जरुरी हो।’ अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख उद्देश्य भएको भन्दै सोहीअनुसार पार्टीलाई अगाडि बढाउने बताए। उनले पार्टीका सांसदलाई धेरै विदेश भ्रमण नगर्न सुझाव दिँदै सांसदलाई गल्ती र ठगीबाट जोगिने आग्रह गरे।

उनले आगामी आर्थिक वर्षको बजेटका लागि आवश्यक सुझाव पेस गर्न पनि सांसदहरूलाई निर्देशन दिए। अध्यक्ष ओलीले सांसदको काम कानून निर्माण रहेको भन्दै सांसदलाई जथाभाबी प्रस्तुत नहुन र पूरा हुन नसक्ने खालका विकास निर्माणका काममा प्रतिबद्धता नजनाउन पनि सुझाव दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्