विश्वासको मत लिँदै मुख्यमन्त्री यादव

sarojkumar-yadav
लोकपाटी न्यूज
0 Shares

जनकपुर। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन्। मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिए।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै तत्कालीन सत्ता साझेदार दल नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्। उनले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक लिन लागेका विश्वासको मत हुन्। सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ। एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ। हाल सत्ता गठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्