माडीमा विद्युत सेवा अवरुद्ध

लोकपाटी न्यूज
0 Shares

भरतपुर। चितवन राष्ट्रिय निकुञ्जभित्र बिजुलीको भूमिगत तार (केबल) मा समस्या आएपछि माडीमा विद्युत सेवा अवरुद्ध भएको छ। सोमबार राति भूमिगत तार पड्किपछि विद्युत् अवरुद्ध भएको थियो।

अरुद्ध सेवा मर्मतपछि मङ्गलबार साँझदेखि ५ सञ्चालनमा आए पनि आज बिहान केबल पुनः पड्किएपछि विद्युत अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुख इञ्जीनीयर विनोद सापकोटाले जानकारी दिए।

उनले निकुञ्जभित्र पड्किएको तार मर्मतको काम सुरु गरिसकिएको बताए। आज दिनभरमा विद्युत् सेवा नियमित सञ्चालनको प्रयास गरिने भन्दै पुनःमर्मतका लागि कति समय लाग्ने भन्ने टुङ्गो नभएको सापकोटाले बताए।

“आज मर्मतको काम सकेर बेलुकासम्म विद्युत् सप्लाई गर्न सकिन्छ कि भन्ने छ। अहिल्यै भन्न सक्ने अवस्था भने छैन”, उनले भने। निकुञ्जभित्रको भूमिगत तार पड्किदा माडीमा पटक-पटक विद्युत सेवा अवरुद्ध हुँदै आएको छ।

निकुञ्जभित्र आठ किलोमिटरमा चनौली–जगतपुर-माडी ३३ केभी सव–प्रसारण लाइनको केबल भूमिगत गरिएको छ। निकुञ्जभित्र वैकल्पिक केबल भूमिगत गर्ने प्रक्रिया सुरु भए पनि काम सुरु भइनसकेको इञ्जीनीयर सापकोटाले बताए। पटक-पटक विद्युत अवरुद्ध हुँदा माडीमा दैनिक जनजीवन प्रभावित भएको छ भने उद्योग, व्यवसाय, शैक्षिक संस्था, इन्टरनेट, सञ्चारमाध्यमलगायत सबै क्षेत्र समस्यामा परेका छन्। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्