पर्यटकीय क्षेत्रमा इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिन्छ : मन्त्री चौधरी

bhagwati-chaudhari
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्‍याएर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नुपर्ने बताएकी छन्।

नेपालमा पहिलो पटक आयोजना भएको इन्द्रेणी (रेन्बो) पर्यटन अन्तर्राष्ट्रिय सम्मेलनमा उनले प्रदेश र स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रमा पनि इन्द्रेणी पर्यटन आकर्षित गर्न सकिने बताइन्। पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेकोमा आयोजक एवं सहयोगीलाई धन्यवाद दिँदै मन्त्री चौधरीले इन्द्रेणी पर्यटन क्षेत्रबाट थाइल्याण्डको कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गरिन्।

लैङ्गिक समानता नीति २०७७ मै लागू भएको जनाउँदै मन्त्री चौधरीले नीति परिमार्जन गर्नका निम्ति छुट्टै निकाय तोकिएको उल्लेख गरिन्। उनले भनिन्, ‘लैङ्गिक समानता नीति २०७७ मा लागू भएको छ, पहिलो समलिङ्गी विवाह दर्ता भएको छ। विगतमा पनि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि लुम्बिनी र कोशी प्रदेशमा अभिमुखीकरण र सचेतनाका कार्यक्रम सञ्चालन भएका थिए, अब सातै प्रदेशमा सञ्चालन गर्ने तयारीमा छौं।’

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ‘मायाको पहिचान नेपाल’ले सम्मेलनको आयोजना गरेको हो। मन्त्री चौधरीले लैङ्गिक समानताका लागि कानुन पर्याप्त रहेको र अहिले कार्यान्वयनको क्रममा रहेको जानकारी दिइन्। -रासस