पहिलाको जस्तो हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौं : प्रधानमन्त्री प्रचण्ड

Prachanda_PM
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा सोमबार गोदावरीमा आयोजित कार्यक्रममा उनले एक पटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताएका हुन्।

तर, पहिलाको जस्तो गरेर हतारमा अहिले नै हौसिएर कम्युनिस्ट एकता गर्ने पक्षमा आफूहरू नरहेको उनले बताए। अहिले कम्युनिस्ट दलहरूबीचको सत्ता सहकार्यलाई राम्रोसँग अगाडि लैजाँदा एकताको आधार तयार हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। उनले जनतालाई र देशलाई राम्रो सेवा दिनसके राजनीतिक दल र कम्युनिष्टहरुको बीचमा स्वतः नै एकताको आधारभूमि तयार हुने दाबी गरे।

‘हामी अहिले पहिलाको जस्तो हतारमा, हौसिएर कम्युनिस्ट एकता भन्ने पक्षमा छैनौं। हामी त्यो बेलामा अलि बढी हौसिएछ कि, समयभन्दा अगाडि नै दौडिइएछ कि भन्ने हेक्का राख्नुपर्ने ठान्छु मैले। त्यस कारण अहिले हामी सहकार्य सुरु गरेका छौं, राम्रो सहकार्य गरौं। यसबाट जनतालाई र देशलाई राम्रो सेवा दिऊँ। त्यसो हुँदै गयो भने राजनीतिक दलहरूको बीचमा, कम्युनिस्टहरूको बीचमा स्वतः नै आधारभूमि तयार हुन्छ, एकताको, समझदारीको,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले समृद्धिको जनताको आकांक्षा, सामाजिक न्याय, सुशासनको आकांक्षालाई महशुस हुने गरी काम गर्न आवश्यक रहेको बताए। उनले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए। उनले संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणमा इमान्दार भएर लाग्नुपर्नेमा जोड दिए।

उनले भने, ‘हामी संविधान कार्यान्वयनको, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जुन बिन्दुमा छौं, समाजवादको आधार तयार पार्ने कुरामा हामी सहमतिका साथ संविधानमा उल्लेख गरेका छौं, त्यसमा इमान्दार भएर लाग्ने आजको आवश्यकता हो।’