इलाममा उपचुनावका लागि मौन अवधि शुरु

Election pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गत इलाम २ र प्रदेशसभा अन्तर्गत बझाङ १ क मा पर्सि शनिवार हुने उपचुनावका लागि मौन अवधि शुरु भएको छ। गएरातिदेखि शुरु भएको मौन अवधिमा प्रचारप्रसार गर्न निषेध गरिएको छ।

निर्वाचन आयोगले मतदान हुने दिनभन्दा ४८ घण्टाअघि गएराति १२ बजेदेखि मतगणनाको काम नसकिएसम्म प्रचारप्रसार गर्न निषेध गरिएको जनाएको छ।

आयोगले यस अवधिमा उपचुनाव हुने सम्बन्धित जिल्लामा आचारसंहिता प्रतिकूल हुने गतिविधिको निगरानी तथा नियन्त्रणका लागि सूक्ष्म अनुगमन गरी आचारसंहिता पालना गराउने व्यवस्थासमेत मिलाइसकेको जनाएको छ।

इलाम-२ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो। बझाङ-१ (क)मा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि त्यहाँ पनि उपचुनाव हुन लागेको छ।