धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता

hakki-game-pressmeet
लोकपाटी न्यूज
0 Shares

काभ्रेपलाञ्चोक। धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ। धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति हक्की प्रतियोगिताको तयारी पुरा भएको हक्की सङघ काभ्रेपलाञ्चोकले जनाएको छ। पाँच दिन सञ्चालन हुने प्रतियोगितामा प्रदेशस्तरका पाँच समूहका ९० खेलाडी सहभागी हुनेछन्।

प्रति समूह १६ खेलाडी र दुईजना अफिसियल सहभागी हुने हक्की सङ्घका जिल्ला अध्यक्ष स्वस्तिक ब्याञ्जूले जानकारी दिए। प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने जनाइएको छ। नेपाल आर्मीका तर्फबाट एक सय २० जना सहभागी हुनेछन्।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेलाइने छ। यस्तै समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माले प्रतियोगिताको विजेतालाई रु एक लाख, उपविजेतालाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने बताए।

हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजार नगद पाउनेछन्। उत्कृष्ट डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही रु १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनार्थ राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संस्थाले सहयोग गरेको छ।

यसैबीच अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण गर्न धुलिखेलमा जग्गा व्यवस्थान गरिने भएको छ। त्यसका लागि नगरपालिकाले वडा नं १२ स्थित खेल मैदान उपलब्ध गराउने नगरप्रमुख अशोक ब्याञ्जूले बताए। बागमती प्रदेशस्थित खेलकूद विकास परिषद्ले स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरिरहेको छ।

शर्माका अनुसार तीन वर्षमा तीन चरणमा स्टेडियम निर्माण हुनेछ। स्टेडियमको पहिलो चरणमा ग्राउन्ड, दोस्रोमा प्याराफिट र अन्तिममा ‘होस्टेल’ निर्माण हुनेछ। स्टेडियम करिब रु ८० करोडमा तयार हुने अनुमान गरिएको छ। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्