नेपाली समाज परिवर्तन गर्ने क्षमता कम्युनिस्ट पार्टीसँग मात्र छ : अध्यक्ष नेपाल

Madhav_Nepal
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन्। पार्टीको भ्रातृ संस्था युवा संघ नेपाल काठमाडौं जिल्ला समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा उनले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताएका हुन्।

‘देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिस्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरू अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्,’ उनले भने।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिस्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गरे। उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिस्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए। ‘समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो,’ उनले भने।

उनले इमान्दार, निष्ठा र केही गरौं भन्ने भावना भए मात्र पार्टी अगाडि बढ्ने बताए। पार्टी एकातिर, जनवर्गीय संगठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ। उनले आफू ४१ वर्षमा मन्त्री भएर युवाको जोस र जाँगर राष्ट्र निर्माणमा लगाएको स्मरण गर्दै अहिलेका युवालाई समेत नवीन जोस जाँगरका अगाडि बढ्न आग्रह गरे।

अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका दस्ताबेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए। अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उनको भनाइ छ। सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताए।

उनले वर्तमान सरकार छ पार्टीको समर्थनमा बनेकाले कुनै एक पार्टी सरकारबाट अलग हुँदा सरकारलाई अप्ठेरो पर्ने अवस्था भएको हुँदा सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरे। पूर्वप्रधानमन्त्री नेपालले जलवायु परिवर्तनको असरले नेपालका हिमालमा असर पर्दै गएको भन्दै चिन्ता व्यक्त गरे। विकसित मुलुकले विकासको नाममा प्रदूषण उत्पन्न गर्दा नेपालको सगरमाथामा असर परिरहेको उनको भनाइ थियो।