प्रदेशसभामा एमालेको थप सदस्य

लोकपाटी न्यूज
0 Shares

सुदूरपश्चिम। बझाङ प्रदेशसभा निर्वाचन ‘क’ मा भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएसँगै एमालेको सुदूरपश्चिम प्रदेशसभामा ११ सदस्य पुगेका छन्। बझाङमा रिक्त प्रदेशसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी ११ हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार तीन सय ४६ मत प्राप्त गरे। उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का प्रत्याशी जनक बुढाले तीन हजार आठ सय ३१ मतसहित तेस्रो स्थान र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंह दुई हजार पाँच सय १४ मत सहित चौथौ स्थानमा रहे।

विसं २०७९ मा भएको निर्वाचनमा यसै क्षेत्रबाट विजयी काँग्रेसका पृथ्वीबहादुर सिंहको गत वर्ष गाडी दुर्घटनामा निधन भएपछि रिक्त यो क्षेत्रमा यही वैशाख १५ गते उपनिर्वाचन भएको हो। उपनिर्वाचनमा निकटतम रहनुभएका अभिषेक गाडी दुर्घटनामा निधन भएका काँग्रेसका पृथ्वीबहादुर सिंहका छोरा हुन। तत्कालीन गठबन्धन दलका तर्फबाट काँग्रेसका पृथ्वीबहादुर सिंह यसै क्षेत्रमा प्रदेशसभा सदस्यका प्रत्याशी भएर निर्वाचित भएका थिए।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ विसं २०७९ मा एमालेबाट चुनावको प्रत्याशी भएकामध्ये डोटीबाट चक्रबहादुर मल्ल, बैतडीबाट सुरेन्द्रबहादुर पाल र कञ्चनपुरबाट वीरबहादुर थापा मात्रै निर्वाचित भएका थिए। यी तीन जना प्रत्यक्ष निर्वाचित र सात जना समानुपातिकसमेत गरी प्रदेशसभामा सो पार्टीका १० प्रदेशसभा सदस्य रहेकोमा उपनिर्वाचनपछि एक सिट थपिएको हो।

त्रिपन्न सदस्यीय प्रदेशसभामा ठूलो दल नेपाली काँग्रेसका १८ सदस्यमा सीमित भएको छ। नेकपा (माओवादी केन्द्र) को ११, नेकपा (एमाले) को ११, नागरिक उन्मुक्ति पार्टीको सात, नेकपा (एकीकृत समाजवादी) पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन्। सुदूरपश्चिम प्रदेशका सबै नौ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ निर्वाचन क्षेत्र छन्। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्