अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली

लोकपाटी न्यूज
0 Shares

इलाम। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुहाङ नेम्बाङले सांसदमा विजय हासिल गरेसँगै इलामले थप समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा इलाम-२ बाट एमाले उम्मेदवार सुहाङ निर्वाचित भएपछि आज इलाम चोकबजारमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

‘तपाईंहरुले युवा नेता सुहाङलाई जिताएर पठाउनुभयो, यसका लागि इलामको जनतालाई धन्यवाद दिन चाहन्छु,’ अध्यक्ष ओलीले भने, ‘अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु।’ उनले देशलाई आर्थिकरुपमा समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र भएको दाबी गरे।

उनले भने, ‘मुलुकलाई आर्थिकरुपमा बलियो र समृद्ध बनाउने कार्ययोजना एमालेसँग मात्र छ, अहिलेसम्मको सबै कामको नेतृत्व एमालेले नै गरेको छ।’ अध्यक्ष ओलीले सुवास नेम्बाङले थाल्नुभएको विकासको अभियानलाई पूर्णता दिनका लागि सुहाङ उपयुक्त पात्र रहेको उल्लेख गरे। उनले सुवास जनताको लागि लड्ने योद्धा भएको स्मरण गर्दै उनका छोरा सुहाङ पनि योद्धा नै भएको दाबी गरे।

उनले भने, ‘सुवास त संविधानको निर्माता, एउटा सांसद, जनताका लागि लड्ने योद्धा हुनुहुन्थ्यो, योद्धाको छोरा पनि योद्धा नै हुन्छ।’ ओलीले आफ्ना उम्मेदवार जिताउन सहयोग गरेको जनाउँदै नेकपा (माओवादी केन्द्र) समेत धन्यवाद दिए। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्