आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

Fire
सांकेतिक तस्विर
लोकपाटी न्यूज
0 Shares

धादिङ। धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ। गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उनी र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले राससलाई बताए। घरमा भएका अन्नपात र लत्ताकपडा सबै नष्ट भएको छ।

“राति करिब ११ः३० बजे घरमा आगो लागेको खबर पायौँ । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा उहाँहरूको मृत्यु भइसकेको थियो”, प्रहरी उपरीक्षक केसीले भने।

यसैबीच गोरखामा आगलागीबाट दुईवटा घर र चारवटा गोठ जलेका छन्। गोरखा नगरपालिका–५, स्थित ठूलोरिपमा घर नजिकै जङ्गलमा लागेको डढेलो बस्तीमा पुग्दा स्थानीय पार्वती राना र रुपा रानाको घर जलेका हुन्।

आगलागीबाट पार्वतीको दुईकोठे र रुपाको दुईकोठे घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका स्प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। सोही ठाउँका पूर्णबहादुर मगरको गोठ पनि जलेको उनले बताए। पालुङटार नगरपालिका-९ चालिसेडाँडामा आगलागीबाट तीनवटा गोठमा क्षति भएको छ। गोठमा बाँधेको एउटा गाई पनि मरेको छ।

यसैबीच, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाले ठूलोरिपका आगलागी पीडितलाई राहत सामग्री उपलब्ध गराएको छ। आगलागीबाट घर र गोठमा क्षति पुगेका परिवारलाई आपत्कालीन सहयोग उपलब्ध गराइएको शाखाका कार्यालय प्रमुख सुवास घिमिरले बताए। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्