सामाजिक विज्ञानमा मानव ज्ञानको अस्थित्व

लोकपाटी न्यूज
0 Shares

 सामाजिक विज्ञान अनुसन्धानमूलक सोध, खोजका विषय र क्षेत्र हो। समाज आफैमा विज्ञानको विषय हो। समाजभित्रका वस्तुगत अवस्थाको अध्ययन र खोज सामाजिक विज्ञानको क्षेत्र हो। समाज विज्ञान मानिसको विज्ञान हो। मानिसले आफूलाई चिन्न जान्न बुझ्न निर्माण गरेको साधन खोजको आधार नै विज्ञान हो। मानिस एउटा निश्चित पद्धति र संगठनको आधारमा विकास भएको प्राणी हो। मानिसले एउटा निश्चित प्राकृतिक पद्धतिमा रहेर आफूलाई व्यवस्थापन गर्दै आएको छ। निश्चित प्राकृतिक पद्धति भित्र नरहने हो भने वा आबद्ध नहुने हो भने मानिसको अस्थित्व सम्भव नै हुँदैन थियो। ती पद्धति वा दायराहरू के के हुन त ? प्रकृतिको पद्धति र मानव पद्धतिबीचको सम्बन्ध र त्यसमा किन विविधता छ ? भन्ने जस्ता सवाल सामाजिक विज्ञानका क्षेत्र हुन्।

सामाजिक विज्ञान र क्षेत्र

सामाजिक विज्ञान आफैमा मानव अस्थित्व र सभ्यता खोजको विज्ञान हो। आखिरमा, विज्ञान के हो त ? विज्ञान आफैमा एउटा खोज हो र अर्को खोज। खोजको पनि खोज। सामाजिक विज्ञान प्रकृति र समाजको अवलोकन र अध्ययनबाट पाइने पद्धतिसंगत र व्यवस्थित ज्ञान हो। अर्थात, यो एक प्रकृति र जीवन पद्धति खोजको नविनतम् यात्रा हो। सामाजिक विज्ञान मानिसको जीवनसँग सरोकार राख्ने विज्ञान हो। यो प्रकृति समाज, खगोल भूगोलको पहिचानको आधार हो। मानवका विगत र वर्तमानका हरेक विषयवस्तु र अवस्थाबारे जागेको ज्ञानको भोक हो। साथै, अबको मानव र मानवसँग जोडिएका जीव, जन्तु, बोट बिरुवा, हावा, पानी, तातो चिसो, खगोल भूगोल जस्ता विषयका बारेमा गरिएको खोज र अध्ययन हो। वास्तवमा भन्नुपर्दा, आजको मानव सभ्यताका साथै भोलिको सभ्यताको अवस्थाबोध गराउन सक्ने विशाल क्षेत्र ओगटेको विज्ञानको पनि विज्ञानको रूपमा रहेको विषय नै सामाजिक विज्ञानको क्षेत्र हो।

चेतना र ज्ञानको विकास

विज्ञानले जिज्ञासा पैदा गराउँछ। त्यसको थप खोज अनुसन्धानका लागि उत्साहित तुल्याउँछ। वस्तुगत सत्य के हो भन्ने बारेमा मानिसलाई ज्ञान र शिक्षा दिन प्रयास गर्दछ। भ्रम र भ्रान्तिको उजागर गरिदिन्छ। ज्ञान भनेको बोधको प्रारम्भिक चरण हो। बोध-ज्ञान त्यो बेला ज्ञानमा रूपान्तरण हुन पुग्दछ, जुनबेला उसले त्यसलाई प्रयोग गर्दछ। आगोले पोल्दछ, आगो छुन हुन्न भन्नु बोध हो। जब आगोमा मानिसको शरीरका कुनै भागले छुन पुग्दछ, त्यसबाट मानिसले जे कुरा ग्रहण गर्न पुग्दछ, अब त्यसले ज्ञानको रूप धारण गर्दछ। यसर्थ चेतना नै ज्ञान हो। चेतनाको कुनै सिमाना हुँदैन। पलपल यसले आफूलाई प्रयोग र परीक्षणमा होमिइरहनु पर्ने हुनाले चेतनाको साथमा ज्ञान पनि पलपल विकसित हुँदै गएको हुन्छ।

ज्ञान कहिल्यै स्थिर हुँदैन। यो वायु जस्तै हो, ६ वटै दिशा र परिधिका हरेक बिन्दु र बिन्दुका सूक्ष्म अंशभित्रका परिधिसमेतमा यसले दबाब दिई नै रहेको हुन्छ। जब यसले सकारात्मक निकास पाउँछ, मानव जीवनका लागि वरदान बन्न पुग्दछ। नकारात्मक निकास पाउँछ, मानव जीवनका लागि अभिसाप बन्न पुग्दछ। वास्तवमा भन्नु पर्दा सबै खोज र उत्पादन सकारात्मक नै हुन्छ। हामी मानव जीवनलाई सहज बनाउने पक्षसँग तुलना गर्दा मात्र अर्थात्, स्वार्थ भावनाले मात्र सकारात्मक र नकारात्मक भन्ने गर्दछौ।

अध्ययनको साधन र साध्य

सामाजिक विज्ञान आफैमा अध्ययनको साधन र साध्य पनि हो। यसमा जिज्ञासा पैदा गराउने, त्यसको परिपूर्ति गर्न थप अध्ययन अनुसन्धानका लागि प्रेरित गर्न र तथ्य पत्ता लगाउन समर्पित गराउन सक्ने विशेषता हुन्छ। किनकि, विज्ञानले सधैँ नयाँ र चुनौतीपूर्ण मार्ग खुला गर्दछ। विज्ञान त्यस्तो शक्ति हो, जसले मानिसभित्र नयाँ-नयाँ काम गर्ने सोच जोस र भावना पैदा गरिदिन्छ। जसका कारण मानिसले शक्ति, सम्पत्ति र सम्मान प्राप्त गर्दछ। पुराना सोचलाई निषेध गर्दै नवीन सोचमा मानिसलाई डोर्‍याउँछ। उन्नत उच्च र स्तरीय जीवन यापनमा सहयोगी बन्न पुग्दछ। मानिस त्यस्तो प्राणी हो, ऊ आफ्नो सुख सुविधा र सहजताका लागि जस्तै अवस्थाको सामना गरेर पनि विजय पाउने लालचामा बाँचेको हुन्छ। मानिसको त्यो भावनालाई विज्ञानले सिर्जनामा बदलिदिएको हुन्छ। विज्ञान समाजको एक हिस्सा हो। अतः प्रकृति समाज र त्यसले सिर्जना गरेको मानव र मानवभित्रको मानवताका हरेक पक्षको अध्ययन गर्ने साधन सामाजिक विज्ञान हो।

कमजोरीबाट शिक्षा

बोध र अबोध बारेको कुरा उठाऊँ। आज धर्म र ध्यानको नाममा मुक्तिलाई बोधको रूपमा हेरेको पाइन्छ। वास्तवमा भुक्ति हुनु त मृत्यु हो। राम्रो पक्ष होस वा नराम्रो। मृत्यु जीवन हैन। मानिसलाई किन किन मुक्ति चाहियो। किनकि मानिस त जीवन हो। जीवनसँग असम्बद्ध पक्षलाई जीवनको रूपमा जोड्नु धार्मिक अहम्वाद हो। भ्रम हो, व्यापार हो। मानवमाथि मानवले गरेको पाप हो, अन्याय हो, अत्याचार हो। शोषकबाट शोषितले जहिले पनि मुक्ति चाहन्छ। जब लडेर क्रान्ति गरेर शोषणबाट मुक्ति पाउँछ, अब फेरी ऊ शोषकसँग नै समर्पित त हुँदैन। धर्मले ठिक यसको उल्टोबाटो लिएको पाइन्छ। त्यसलाई ऊ सामाजिक विज्ञानको नाम पनि दिन पुग्दछ। यसबाट हामीले शिक्षालिई सत्य खोजी गर्न पर्दछ। यो नै सामाजिक विज्ञानको नियम हो। भ्रम र असत्यबाट शिक्षा लिएर सत्यको खोजी गर्नु।

विज्ञानको अध्ययनले के देखायो भने- हरेक पदार्थ र चेतनामा दुई पक्ष हुँदा रहेछन्, एउटा सकारात्मक पक्ष र अर्को नकारात्मक पक्ष। सकारात्मक पक्षले समाजलाई नयाँ गति र दिशा दिन्छ, नकारात्मक पक्षले समाजभित्र दुर्गन्ध र अन्धकार फैल्याएर व्यापार गरिरहन्छ। जुन धर्मको नाममा आज भइरहेको छ। यी सामाजिक विषय वस्तु हुन्। यो विज्ञानसँग कसरी जोडिन पुग्छ ? यसमा निश्चित पद्धतिले काम गरेको छ। पद्धति-पद्धतिबीचको अन्तर सम्बन्ध भने हाम्रो आँखाले मात्र देख्न सक्दैन। चेतना र चिन्तनले मात्र यसमा विचरण गर्न सक्दैन। यो विज्ञानको विशाल क्षेत्र र विषय हो। विज्ञानको अध्ययनले सम्भावनाको ढोका खोल्दछ। उपस्थितिको अनुभूत गराउँछ। तर, भेदको फेद वा टुप्पोमा पुग्नका लागि थप गर्नु पर्ने प्रयोग परीक्षणको जिम्मा भोलिको वैज्ञानिकको काँधमा छ। किनकि मानवीय क्रियाकलापका सबै पाटा र पक्षहरू विज्ञानमा आधारित छन्।

सहजताको मूल्यबोध

प्राकृतिक पद्धतिमा आबद्ध छ। तारा, ग्रह, नक्षत्र, सूर्य जस्तै। जसको प्रकृति गुण, विशेषता र प्रक्रियागत पद्धतिहरू समान आधारका रूपमा देखा परेका छन्, रहेका छन्। समाजमा भएका कतिपय कुराहरूले हामीलाई आश्चर्य चकित तुल्याउँछ। विश्वमा मानव निर्मित कयौं आश्चर्यचकित पार्ने चिजहरू छन्, ती कसरी निर्माण गरिए होला ? त्यसमा आकार, प्रकार, कला कसले दियो ? त्यो कसरी पैदा हुन पुग्यो ? यी कुरा अनुत्तरित र अचम्म लाग्दछन्। यति मात्र हैन, आज सम्भव होला तर, त्यो दुनियाँ जहाँ श्रमको नामा मानिस बाहेक अरू थिएन। गाडा घोडा बाहेक अरू थिएन। त्यस्तो युगमा कसरी त्यस्ता संरचनाहरू निर्माण भए होलान् ? त्यो बनाउने सोच, बनाउने सामग्री र बनाउने मानिसका बारेमा आश्चर्य चकित पार्ने कुरा होलान्। विचारका क्षेत्रमा, तर्कका क्षेत्रमा र दर्शनका क्षेत्रमा कसरी मानिसले आफूलाई अभ्यस्त गर्दै लग्यो। पुस्ता दर पुस्ता, सन्तान दर सन्तान कति शेष बित्न पुग्यो होला ?

एउटा सानोभन्दा सानो चिज वस्तु वा विषय पनि एकै दिन वा एक पुस्ताले चाहेकोभरमा अवश्य निर्माण भएनन्। आज हामीले जन्मदेखि देखिरहेका हुनाले पुर्खाको योगदानको कुनै मूल्य देख्दैनौं। जुन उत्पादनका लागि हाम्रा पुर्खाहरूले सयौं पुस्ताको जीवन खर्चिएका थिए। आज हाम्रो जीवन त्यसै सहज भएको छैन। यो सहजताको मूल्यबोध हामीले गर्न सकिरहेको छैन। समाज विज्ञानले वस्तुभित्र र बाहिर रहेका हरेक पद्धतिको अध्ययन गराई त्यसको खोज, बोध र ज्ञान प्रदान गर्न मद्दत गर्दछ। हामीले जुन दिन त्यो समयमा भएको मानवीय श्रम, शक्ति र त्यस विषयको मूल्य बोध गराउन सक्छौं, त्यो दिन मात्र हामी हाम्रा पुर्खाप्रति हामी गर्व गर्न सक्दछौं। त्यसले हामीलाई राष्ट्रप्रति सम्मान र देश भक्ति भावनाको विकास गराउँछ।

जति टाढा त्यति विशाल

एउटा प्रसंग जोडन मन लाग्यो। तगारो’ले जुन’सँग एक पटक सोधेछ, म यहाँ छु तँ चारै तिर छस् किन ? जुनले भनेछ, तँ वस्तु हो म विश्व हुँ। तँ स्थूल छस्, म चलायमान छु। तँ बनाएको चिज हो म बनेको चिज हुँ ? गोठमा बस्ने गोठालाले दुवैको वात कान थापेर सुनिरहेको रहेछ। उसलाई लाग्यो, त्यसो भए म को हुँला ? आफैलाई प्रश्न गर्‍यो। मलाई कसैले बनाएको हो ? हैन। म बनेको हो। बनेको हो भने जुन जस्तो किन हुन सकिन ? लुकेर मनमा कुरा खेलाइरहेको तगारा’ले देखेछ र सोध्यो, जुनसँग तुलना गर्ने तैँले हैन। जुन कहाँ छ थाहा छ ? पहिला यो कुरा थाहा पा। बल्ल तेरो ढकनको बिर्को खुल्दछ। हो त ! कहाँ छ कहाँ छ ? मनमनै उसले भन्यो ‘जति टाढा छ, त्यति विशाल छ !’ तगाराले भन्यो ग्वाला भएर आफ्नो धर्म निभाउनु, चन्द्रमा भएर उसले रातको अधेरी चिर्‍यो। त्यो पनि उसले चाहे जस्तै हुँदैन। र पनि उ कहिल्यै निराश छैन। चन्द्रमाबाट सिक्नु पर्दछ। जति सकिन्छ उज्यालो छरिरहने। यो दुनियाँमा अपरिवर्तनशील भन्ने कुरा केही छैन। सबै चिज परिवर्तनशील छ। जुन’को कुरा हेर। त्यो एक ठाउँमा बसेकै छैन। किन घुमिरहेको छ ? किनकि ऊ आफ्नो अस्थित्व टिकाइरहन घुमिरहेको छ। जुन दिन घुम्न सक्दैन, त्यो दिन उसको अस्थित्व रहँदैन।

प्रसंग परिवेश

यसबाट यो पनि सिक्न पर्दछ कि, हरेक कुरा आफ्नो चाहनाले हुँदैन। चन्द्रमाबाट हामीले जीवन सञ्चालन कला सिक्न पर्दछ। सुख-दुखलाई दिन र रातको रूपमा लिन सक्नु पर्दछ। दिनमा चन्द्रमाको कुनै महत्त्व हुँदैन। तर, ऊ आफ्नो मार्गबाट विचलित हुँदैन। मात्र रात कुरेर अगाडि बढिरहेको हुन्छ। राता आउला र देखिउँला भनेर कुरिरहँदैन, कुदिरहन्छ। तगारोले भन्दछ, मलाई तुलना गर न, म स्थूल छु। केही गर्न सक्दिन। तर, म आवश्यक छु। म यहाँको रखवाली गर्दछु। मलाई नाघेर जो पायो ठुला शत्रुहरू यो गोठभित्र छिर्न सक्दैन। तिमी ढुक्कसँग निदाउन सक्दछौ। तिम्रा गाईवस्तु सुरक्षा गर्न म बसेको छु। म विश्वस्त छु, मलाई नाघेर कुनै त्यस्ता खतरनाक वस्तुभित्र जान सक्दैनन्, जसले गाई वस्तु र तिमीलाई नोक्सान पुर्‍याउन सकुन्। बस, मेरो अस्थित्व यति मात्र हो। यहाँभन्दा बाहिर मैले मेरो कदम राख्न सक्ने अवस्था पनि छैन र त्यो मेरो धर्म पनि हैन। बात रह्यो अस्थित्वको। तिमीलाई थाहा नै छ, यो जीवन क्षणभङ्गुर छ। एक दिन सबै नाश हुनै पर्दछ। टिकाउ र परिवर्तनको कुरा मुख्य हो, तिमी टिक्न छ भने पहिला परिवर्तन हुन सिक। परिवर्तनका लागि गति चाहिन्छ। गतिका लागि शक्ति चाहिन्छ। फेरि शक्तिका लागि गति चाहिन्छ। गति र शक्ति बिचको सन्तुलन नै जीवन हो। जसले गति र शक्तिको सन्तुलन व्यवस्थित रूपले कायम गर्न सक्दछ, ऊ लामो समयसम्म टिक्न सक्दछ। गुरु आश्रमको त्यही गोठालो वेदको रचयिता बने र आकाश धरतीका कथा लेख्न थाले। एक कुनाबाट विश्वभर आफ्नो सन्देश छर्न सके। आज पूर्वीय जगत मात्र हैन विश्व ब्रह्माण्डको खोजमा समेत वैज्ञानिकहरूले वेदको आवश्यकता बोध गर्दै आएका छन्। अस्तु…।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्