उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छ : महासचिव पोखरेल

Shankar_Pokharel
लोकपाटी न्यूज
0 Shares

कीर्तिपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताएका छन्। पार्टीको कीर्तिपुर नगर कमिटीको आज सम्पन्न छैटौं अधिवेशनको उद्घाटन समारोहमा उनले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताए।

‘देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ,’ उनले भने। महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि साबित भएको बताए।

यसैगरी उनले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्‍याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा राखे। यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने धारणा पनि उनको थियो।