जसपाका सात सांसदद्वारा आयोगमा निवेदन दर्ता

Ashok_Rai
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनका संघारमा पुगेको छ। सो पर्टीका सात सांसदले आज निर्वाचन आयोगमा पार्टीको आधिकारिता दाबी गर्दै निवेदन दिएका छन्।

जसपाका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको जसपाका सांसद सुशीला श्रेष्ठले जानकारी दिइन्। ‘अहिले हामी सांसदहरु सातजना छौं, अरू पनि थुप्रै आउनुहुन्छ। उहाँहरु सम्पर्कमै हुनुहुन्छ,’ सांसद श्रेष्ठले भनिन्।

सांसद श्रेष्ठले आफ्ना मुद्दालाई जनतासमक्ष प्रभावकारी रुपमा लैजान र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन अहिलेको बाटो तय गरेको दाबी गरिन्। उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीसमेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका बेला अर्को समूहले निर्वाचन आयोगमा आधिकारिकता दाबी गरेको हो।

निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार जसपाका सांसदहरुले निवेदन दर्ता गराएको र सोको अध्ययन भइरहेको छ। जसपाको संघीय संसद्मा १२ सांसद रहेका छन्। उनीहरुमध्ये सात सांसदले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन्।

निवेदनमा हस्ताक्षर गर्नेमा अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठ रहेका छन्। त्यस्तै, केन्द्रीय कार्यकारिणी समितिका नौ र केन्द्रीय समितिका २७ जनाले राई समूहलाई साथ दिएको बताइएको छ। -रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्