सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाए संसद् अघि बढ्छ : काँग्रेस

Gagan_Thapa
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली काँग्रेसले सरकार आफैँ संसद् चल्न नदिनेतर्फ उद्धत भएको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सहकारी प्रकरणबारे छानबिन गर्न संसदीय छानबिन समिति नबनाई जबरजस्ती अघि बढ्न खोजेर संसद्लाई चल्न नदिनेतर्फ सरकार उद्धत भएको निष्कर्ष निकालेको हो।

बैठकबारे जानकारी दिँदै महामन्त्री गगन थापाले भने, ‘जसरी भए पनि संसद् पनि चल्न नदिने, छानबिन समिति पनि बनाउन नदिनेतर्फ सरकार उद्धत भएको हाम्रो निष्कर्ष छ।’ संसदबाट छानबिन समिति गठन गरेर संसद् सुचारु गराउन उनले आग्रह गरे। गठन हुने छानबिन समितिले पहिलो काम ठगिएका बचतकर्ताहरूको बचत फिर्ता दिनुपर्ने उनको भनाइ छ। महामन्त्री थापाले आफूहरूले सहकारी प्रकरणमा छानबिन समिति बनाउन माग गरेपनि गृहमन्त्री रवि लामिछानेको राजीनामा नमाग्ने प्रष्ट पारे।

उनले थपे, ‘हामीले अहिले समिति बनाएपछि गृहमन्त्रीको राजीनामा माग्छ त्यसपछि सरकार अल्पमतमा पर्छ भन्ने आंकलन सुरु भइसकेको छ। म प्रष्ट भन्छु हामी गृहमन्त्रीको राजीनामा माग्दैनौं। हामीले सरकारलाई अप्ठ्यारो बनाउँदैनौं। छानबिन समितिले आफ्नो काम गर्छ। हाम्रो दाबी छ गृहमन्त्री संलग्न हुनुहुन्छ। त्यसको निष्पक्ष छानबिन हुनुपर्छ।’

उनले यसअघि विभिन्न पार्टीका मन्त्रीहरूलाई विभिन्न आरोप लाग्दा सजिलैसँग संसदीय छानबिन समिति गठन गरी छानबिन भएको पनि बताए। ‘उहाँलाई चाहिँ प्रश्नै गर्न नहुने हो ? कानुनभन्दा माथि हो ?’ महामन्त्री थापाले प्रश्न गरे। उनले संसदीय छानबिन समिति बनाउन सत्ता पक्ष तयार भए संसद् अघि बढ्ने बताए। संसदीय छानबिन समितिलाई एक दुई महिनाको समय दिन सकिने र त्यसमा सबै दलको प्रतिनिधित्व हुने उल्लेख गरे।

बैठकले सरकारको रवैयाप्रति कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न पर्सि संसदीय दलको बैठक बोलाएको महामन्त्री थापाले जानकारी दिए। उनले सोमबार १ बजे दिउँसो बैठकमा संसद्मा कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेर निर्णय गर्ने निष्कर्षमा पुगेको बताए। उनले भने, ‘आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने त्यही दिन संसदीय दलको बैठकबाट थप छलफल हुन्छ। र कसरी अगाडि बढ्ने निर्णय हुन्छ।’