सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डबीच टेलिफोन वार्ता

savamukha ghimire-prachanda
फाइल तस्बिर
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोन वार्ता भएको छ। आज बिहान सभामुख घिमिरेले टेलिफोन गरी प्रधानमन्त्री प्रचण्डसँग सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।

त्यसक्रममा उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको पनि अधिकारीले बताए। प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससँग छलफल, सत्ता घटक दलहरूसँग विपक्षीका मागबारे कुराकानी भएको र आज साँझसम्म निष्कर्षमा पुगिने बताएको सभामुखलाई उद्धृत गर्दै अधिकारी जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका थिए। उनले आफू चितवनबाट फर्के लगत्तै संसद्को गतिरोध अन्त्यका विषयमा संवाद सुरु गर्ने पनि जानकारी गराएको सभामुखको सचिवालयले जनाएको छ।

सभामुखले हिजो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग छलफल गरेका थिए। उनले नीति तथा कार्यक्रम र बजेटमा राजनीति नगरी सहमति गर्नुपर्नेमा जोड दिएका थिए। -रासस