जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। पार्टी संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै सरकारलाई दिएको समर्थन फिर्ता लिइएको जानकारी गराएका हुन्।

सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए। सांसद यादवले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाए। उनले सरकारकै नेतृत्वकर्ताहरू पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको जानकारी दिए। उनले सरकारले गैरजिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी समेत दिए।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन भएको सरकारलाई जनता समाजवादी पार्टी, नेपालले समर्थन गरी सरकारमा समेत सहभागी रहेकोमा अब उपरान्त सरकारलाई दिइएको समर्थन फिर्ता लिई सरकारबाट समेत बाहिरिएकोले संसदमा प्रतिपक्षमा नै बसी आफ्नो रचनात्मक भूमिका निर्वाह गर्ने बेहोरा जानकारीको लागि अनुरोध छ,’ उनले सभामुखलाई लेखेको पत्रमा भनिएको छ।

पार्टीका अध्यक्ष यादव प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं स्वास्थ्य मन्त्रीको जिम्मेवारीमा थिए। त्यस्तै, उनकै दलबाट दीपक कार्की स्वास्थ्य राज्यमन्त्री थिए। उनीहरू दुवैले सोमबार नै राजीनामा समेत बुझाइसकेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्