सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै आज

Sansad_samsad
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ।

सरकारले हरेक वर्ष वार्षिक बजेट प्रस्तुत गर्नुअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आएको छ। मंगलबार दिउँसो ३ बजे राष्ट्रपति पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने तय भएको छ।

नीति तथा कार्यक्रममाथिको छलफल भने दुवै सदनमा छुट्टाछुट्टै हुनेछ। प्रतिनिधि सभामा जेठको ३,४,६,७,८ र ९ गते हुनेछ भने राष्ट्रिय सभामा जेठ ३,४ र ६ गते हुनेछ। साथै साँझ साढे ५ बजे राष्ट्रिय सभा र ६ बजे प्रतिनिधि सभाको बैठक पनि बोलाइएको छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा उपस्थित हुन संसद् सचिवालयले उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलगायत विशिष्ट अतिथिलाई निमन्त्रणा गरी सकेको छ भने राष्ट्रियसभा र प्रतिनिधिसभाका सदस्यहरुलाई सचिवालयले सार्वजनिक सूचनामार्फत आमन्त्रण गरिसकेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्