कृषिमा लगानी दशक घोषणा

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले आर्थिक वर्ष २०८१/२०८२ लाई कृषि लगानी वर्ष घोषणा गर्ने भएको छ। सरकारले आगामी आवका लागि राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा कृषि लगानी वर्ष घोषण गरी सरकारी, निजी तथा विकास साझेदारीको लगानी वृद्धि गरिने उल्लेख छ।

त्यस्तै सरकारले पाँच वर्षभित्रमा देशलाई फलफूलमा आत्मनिर्भर बनाउने घोषणा गरेको छ। राष्ट्रपति पौडेलले भने, ‘फलफूल, नसरी र बेर्ना रोपनलाई व्यापक रुपमा विस्तार गरी पाँच वर्षभित्र देशलाई आत्मनिर्भर बनाइने छ।’

सरकारले उत्पादन, उत्पादकत्व र रोजगारीलाई उच्च प्राथमिकतामा राखेको छ। ‘देशमा आन्तरिक उत्पादन बढाई आयात प्रतिस्थापन र निर्यात वृद्धि गर्न तथा देशभित्र ठुलो मात्रामा रोजगारी सिर्जना गर्न तीनै तह निजी क्षेत्र, सहकारी र समुदायको साझेदारीमा उत्पादन र रोजगारीका लागि साझेदारी कार्यक्रम सञ्चालन गरिनेछ,’ सरकारको कार्यक्रममा भनिएको छ।

उत्पादनसँग सम्बन्धित कार्यक्रमलाई समन्वयका आधारमा बजारीकरणसम्मको कृषि इकोसिस्टम कार्यान्वयन गरिने सरकारले जनाएको छ। त्यस्तै, सरकारले आयातित कृषि र खाद्यान्नमा विषादी परीक्षणको दायरा फराकिलो बनाउने भएको छ।

बजारमा स्वच्छ खाद्यवस्तुको उपलब्ध गराउन विदेशबाट आयात हुने वस्तुमा विषादी परीक्षण गर्ने भएको हो। सरकारले किसान परिचयपत्र दिँदै विभिन्न सहुलियत दिने भएको छ। रैथाने बालीको व्यवसायीकरण गर्ने भएको छ। २ वर्षमा पशुपन्छी र माछाजन्य वस्तुमा आत्मनिर्भर हुने उल्लेख छ।

प्रत्येक प्रदेशमा १ हजार गाईबस्तु पालन गर्ने पूर्वाधार बनाइनेछ। पशु अस्पताल बनाउन प्राथमिकता दिइनेछ। २ वर्षमा खोरेत लगायतका रोग उन्मूलन गर्ने भएको छ।