सरकारले ल्यायो हवाई सेवालाई थप सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने नीति

लोकपाटी न्यूज
0 Shares

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत मुलुकको हवाई नीति र कानूनमा समय सामयिक सुधार गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ।

हवाई सेवालाई थप सुरक्षित, सुलभ र पहुँचयोग्य बनाउने नीति लिएको सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नत्ति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने भएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि विशेष प्रोत्साहन प्याकेजको व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। नेपाली वायुसेवा कम्पनीहरुको अन्तर्राष्ट्रिय बजार बिस्तार गरिने नीति तथा कार्यक्रममा भनिएको छ।

राष्ट्रिय संस्कृति नीति कार्यान्वयनमा ल्याइनुको साथै राष्ट्रिय महत्वका अभिलेख आधुनिक प्रविधिबाट संरक्षण गर्ने नीति लिएको सरकारले मौलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको संरक्षण र विकास गर्ने भएको छ।

धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

सांस्कृतिक तथा धार्मिक स्थलहरुको पर्यटकीय विकासका लागि संस्थागत व्यवस्था गर्ने, बुद्ध परिपट, विश परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्टाहरुको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान निर्माण कार्यलाई तीव्रता दिइनेछ। समाज रुपान्तरणका लागि उल्लेखनीय योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक योगदान गर्ने व्यक्ति र आन्दोलनसँग सम्बन्धित ऐतिहासिक चलचित्र, गीत, सङ्गीत, अनुसन्धान तथा स्वदेशी चलचित्रको प्रवर्द्धन गर्न ‘परिवर्तनका लागि कला र साहित्य कार्यक्रम’ सञ्चालन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।